‘राजा महेन्द्रको आत्मालाई विश्वेश्वरले शान्ति प्रदान गरून्’
समाजवादी चिन्तक ढुण्डीराज शास्त्री आत्मवृतान्त ल्याउँदै

भैरहवाको जेलमा बस्दा ढुण्डिराज शास्त्री (शर्मा पौड्याल) ले दुईवटा उपन्यास लेखेका थिए, ‘मन’ र ‘सुनिता’ । यी उपन्यासका पाण्डुलिपिलाई पुस्तकको आकार दिने शास्त्रीको चाहना थियो । तर जेल अनि निर्वासनको क्रममा एकठाउँबाट अर्को ठाउँमा पुग्ने क्रममा पाण्डुलिपि हरायो । उनले अर्को कीर्ति लेखे ‘सन्तुलनात्मक समाजवाद’ त्यो पनि अप्रकाशित नै रह्यो । तर उनले विभिन्न पत्रपत्रिकाहरूमा फुटकर लेखहरू लेखिरहे । तर जब उनले लेखेको ‘समाजवाद, सन्तुलन र सृजना’ पुस्तक सार्वजनिक भयो, त्यसले विशेषगरी राजनीतिक क्षेत्रमा अर्थपूर्ण उपस्थिति जनायो । सायद त्यहीबेलादेखि हो, उनलाई नेपाली कांग्रेसभित्रका समाजवादी व्याख्याताको रूपमा हेर्न थालियो । 

नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गर्नेक्रममा ५ वर्ष जेल र १३ वर्ष भारतमा निर्वासित जीवन बिताएका निहुरीडाँडा अर्घाखाँचीका शास्त्री प्रजातन्त्र र समाजवादप्रतिको आफ्नो आस्थामा कहिले पनि डगमगाएनन् । वि.सं १९६३ बाट नेपाली छात्र संघ, बनारसबाट राजनीति प्रारम्भ गरेका शास्त्री २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्य रहिसकेका छन् । उनले उद्योग मन्त्रीदेखि श्रममन्त्रीको कार्यभार सम्हालिसकेका छन् । संसदको मानव अधिकार र परराष्ट्र समितिमा रहेर पनि उनले काम गरिसकेका छन् ।

यसबाहेक पश्चिमाञ्चल युवा कांग्रेस, विश्व प्रवासी नेपाली संघ, समाजवादी युवा संघ नेपाल, नेपाली जनसम्पर्क समिति–भारत, नेपाली कांग्रेस अर्घाखाँची, नेपाली कांग्रेस–केन्द्रीय कार्य समिति, नेपाली कांग्रेस कार्य सम्पादन समितिमा रहेर काम गरेको अनुभव छ । नेपाली कांग्रेस, सिद्धान्त नीति र कार्यक्रम विभाग प्रशिक्षण विभागदेखि नेपाली काग्रेस, अनुसन्धान तथा  मूल्याकंन विभागमा रहेर काम गरिसकेका शास्त्री हाल कांग्रेसको साधारण सदस्य छन् ।  

शहीद स्मृति प्रतिष्ठान, महापण्डित दधिराम मरासिनी स्मृति प्रतिष्ठान, समता समाजदेखि प्रजातान्त्रिक समाजवादी मञ्च, नेपालको नेतृत्वमा रहेर परिपक्व र जिम्मेवार जीवन बाँचेका ८७ वर्षीय शास्त्रीको पुस्तक ‘मेरो जीवन र अनुभूति’ भोलि (शनिबार) सार्वजनिक हुँदैछ । नेपाली राजनीतिमा निष्ठा र समर्पणको पर्याय मानिइने शास्त्रीको आत्मवृतान्त ‘लेखनकुञ्ज नेपाल, घोस्ट राइटिङ’ले प्रकाशन गरेको हो । प्रस्तुत छ, उनको पुस्तक अंश :

वि.सं. २०२८ सालमा राजा महेन्द्र स्वर्गे भए त्योबेला म जनता मावि बुटवलमा पढाउँथे  । इतिहास विषय २२ महिना पढाएँ त्यहाँ । त्यही क्रममा एक बिहान त्यहाँ कक्षा लिइरहेको थिएँ । त्यहाँका हेडमास्टर आनन्दप्रसाद श्रेष्ठ मेरो कोठाको बाहिर आएर उभिए । 

उनले भने, ‘ढुण्डिराजजी राजाको मृत्यु भयो, अब हामीले के गर्ने ?’



मैले भने ‘स्कूल छुट्टी गर्नुहोस् ।’

त्यो दिन छुट्टी भयो स्कूल । अर्को दिन बिहान म बस्ने डेराबाट निस्केर गएँ । त्यहाँ नजिकै रसियन लाइब्रेरी थियो । त्यहाँ बसेर पढिरहेको थिएँ । यताबाट प्राध्यापकहरूको एउटा ग्रुप आयो ।



उनीहरूले मलाई देखेर त्यो लाइब्रेरीमा पसे । सबै पढेलेखेकै मान्छेको त्यो ग्रुपले मलाई त ‘घुम्न जाउँ न’ भनेर त्यहाँबाट निकाले । घुम्दै–घुम्दै अञ्चलाधीश कार्यालयतिर लिएर गए मलाई । त्यहाँ त तमाम मानिसहरू, अञ्चलाधीश, मेल्ट्री अफिसरहरू, पुलिस अफिसरहरू, राष्ट्रिय पञ्चायतका सदस्यहरू, सुब्बाहरू सबै जम्मा भएका रहेछन् । त्यहाँ बसियो । राजाबारे शोक पुस्तिका लेख्दै रहेछन् त्यहाँ । सबैले केही न केही लेखिरहेका थिए । 

मैले पनि सरल तरिकाले ‘श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाह देवज्यूको दिवंगत आत्मालाई श्री विश्वेश्वरले शान्ति प्रदान गरून्’ भनेर लेखेँ । त्यसको तल ‘ढुण्डिराज शास्त्री’ भनेर लेखेँ । त्यो पढेर मान्छेहरू सबैमा सन्नाटा छायो । कोही बोलेनन् ।

यहाँबाट एकछिनपछि उठेर हिँडियो । राष्ट्रिय पञ्चायत सदस्य, जो पछि अर्थमन्त्री पनि भए, रवीन्द्रनाथ शर्माजी र पाल्पाका पूर्णमान शाक्य पनि सँगै निस्कनुभएको थियो । उनीहरूले विश्वेश्वरको अर्थ गलत पो लाउँछन् कि भनेर मलाई भने । आचार्य र एमए पढेका मान्छे, संस्कृत पढेको मान्छेले विश्वेश्वरको अर्थ जानेका होलान् नि भने अञ्चलाधीशले किन लेखेको भनेर सोधेछन् भने भनुला, ‘विश्वेश्वर भनेको विश्वको ईश्वर हो भनेर ।’ 

मैले भने । उनीहरू हाँसे । मलाई पनि लाग्यो– सान्दाजुले के सोच्नु भएको होला ? आफैं जाउँ भने चारैतिर घेरिएको छु । त्यतिबेला नारायण भट्टराई पनि लुम्बिनी कलेजमा काम गर्थे । मैले उनलाई वाराणसी पठाएँ, सान्दाजुको घरमा बुझ्न । उनी गए । चौथो दिन फर्केर आए । त्यसअघि नै सानदाजुले वक्तव्य मार्फत राजा महेन्द्रको देहावसानप्रति दुःख प्रकट गर्दै दीक्षित प्रजातान्त्रिक मुलुकमा शिक्षित–दीक्षित भएका राजाले जनताको चाहना बुझेर काम गर्न अपेक्षा राखेको मनसाय व्यक्त गर्नुभएको थियो । 

त्यही कुरा नारायणलाई सम्झाएर केही विषयमा राजा महेन्द्रसँग विमति रहने गरेको भए पनि राजसंस्था अविछिन्न उत्तराधिकारवाला सांस्कृतिक संस्था भएको र नेपाली कांग्रेसले पनि संवैधानिक राजसंस्थाको पक्षपोषण गर्ने गरको हुनाले अहिलेलाई यो भन्दा बढी नबोल्ने र राजाको आगामी कदम कस्ता हुन्छन्, ‘पख र हेरौँ’ मा रहन निर्देशन दिनुभएको रहेछ । हामीले त्यसै गर्‍याैँ । नयाँ राजाका कदमहरूको परख गरियो ।

राजा महेन्द्र बितेको १३ दिनको दिन खबर आयो । राम्रो लेख्नुभएको छ तर पनि लेख माथि पठाउने कि नपठाउने हामीलाई अप्ठ्यारो पर्‍यो भने  । अञ्चलाधीशले मेरो लेखको प्रशंसा गरेको भनेको सुनेको थिएँ तर पछि मलाई पक्राउ गरेर जेलमा राखे । यो २०२९ साल असारको कुरा हो । 

पछि चैत्रको उराठ लाग्दो महिनामा पनि मनमा उल्लास बोकेर जेलबाट छुटेको थिएँ । त्यो समयमा रात–दिन ‘उहाँ यस्तो बुद्धिमान मान्छे, हामीलाई चाहियो, उहाँ आउनुपर्‍यो, हामीसँग सम्पर्क राख्नुपर्‍यो’ भन्ने कुरा पञ्चायतबाट आइरह्यो मेरो कुरा बुझ्नलाई मसँग ट्युसन पढ्ने निउमा मिल्ट्रीका मान्छेहरूलाई सिभिल ड्रेसमा पठाउथे, हामी बसेको बुटवलको डेरामा कोको मान्छे आउँछन् भनेर जान्नलाई पुल्चोकको झोलुङ्गे पुलमा टन्नै मान्छे सिआइडी बसेका हुन्थे ।

बसेको घर नजिकै झुपडी घरमा एक नगरबधु पनि बस्थिन् ।

त्यहाँ निक्कै भिड लाग्थ्यो त्यहाँबाट पनि हाम्रोमा को आएको छ को गएको छ भनेर चियोचर्चो भइरहन्थ्यो । घर वरिपरि पनि सिआइडी घुमेर निगरानी गर्न थालेपछि मलाई त्यहाँ बस्न साह्रै नै अप्ठ्यारो भयो । एकातिरबाट यसरी प्रेसर दिन्थे भने अर्कोतिर अञ्चलाधीश सत्यनारायण झाले निक्कै नै मान्छे लगाएर एक हिसाबले मलाई किन्नै खोजे । 

उनले मलाई पञ्चायतमा ल्याउन निक्कै नै बल गरे । मैले उनलाई एउटा जवाफ पठाए । त्यो यस्तो थियो ।

‘यदि मलाई उहाँले त्यस्तो राम्रो व्यक्ति ठान्नुभएको छ भने, योग्य मान्नुभएको छ भने, म साथीहरूको रिपोर्टिङ गरेर पैसा कमाउँदिन । मलाई चाहिँदैन त्यस्तो । देशको लागि मलाई उत्तम मान्नुभएको छ भने, मैले भनेको काम उहाँले दिनुहोस् म गर्छु ।’

मैले त्यतिबेला मेरो माग राखेँ । नेपालमा कपासको उत्पादन कमी छ । मेरो काम केही छैन, गरिरहेको काम पनि रोक्नुहुन्छ भने मलाई कपास लगाउने ठाउँ दिनुहोस् भनेँ  । तर अञ्चलाधीशले त्यो गर्न सकेनन् । मैले कपास लगाउने ठाउँ माग्नुको कारण मजदुरहरूलाई काम लगाउने भन्ने थियो । उनले ठाउँ दिएको भए मैले आफ्नै पार्टीको मान्छे लगाएर मजदुरहरूलाई काम लगाउने थिएँ । एक हिसाबले मैले उनलाई उक्साएको पनि थिएँ । तर उनले त्यसो गरेनन् ।

‘श्री पाँच महाराजाधिराज महेन्द्र शाहादेवको दिवङ्गत आत्मालाई विशेश्वरले शान्ति प्रदान गरून् ।’ भनेर लेखेपछि मलाई शान्ति सुरक्षा ऐन अन्तर्गत नौ महिना जेलमा राखियो । जेलबाट निस्किएपछि वीपीले बनारस बोलाउनुभयो । अनि पञ्चायतका विरुद्ध गिरीजाप्रसादको नेतृत्वमा हतियारसहित आन्दोलन सुरु गर्ने सल्लाह भयो । अनि पश्चिम नेपाल नै हेर्ने गरी मैले गोरखपुर नै बस्ने निधो गरेँ । 

  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १६:५६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया