त्रिवि उपकुलपति बास्कोटाको गुनासो : प्राध्यापकले हाजिरी मेसिन नै बोकेर हिँडे

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले विद्युतीय हाजिरी मेसिनसमेत राख्न नदिएको खुलेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलब बुझ्ने बेथितिलाई निरूत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकले बोकेर हिँड्ने गरेको खुलासा गरेका हुन् ।   

‘हाम्रा त शिक्षकहरू पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेनले पनि हाजिर गर्न आउनुस् भन्ने चलन । आएर हाजिर गर्‍यो, तलब बुझ्ने चलन । यसलाई निरूत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडिदिए । पुलिसलाई ल कारबाही गर भन्दाखेरी पुलिसले निवेदन नलिने । यो माननीयहरूले जान्नुपर्छ मेरो अफिस बन्द थियो,’ बास्कोटाले भने, ‘मैले होटल एल्लो प्यागोडा, मेरो मित्रवत सम्बन्ध भएकाले पैसा नलिने, हामीलाई चिया पनि सित्तैमा खुवाउने त्यो ठाउँमा मिटिङ गरेको केही अराजक जत्था कुनै संगठनको आवरणमा आएर हामीहरूको माइन्युट लुटेर लगेकै हो । लुटेर लगेको डकुमेन्ट किन बुझ्नुभयो । अहिले पनि त्यो शिक्षामन्त्रीको मै छ ।’

शुक्रबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उपकुलपति बास्कोटाले सो मेसिन बोकेर हिँड्नेलाई कारबाही गर्न दिएको निवेदन प्रहरीले समेत बुझ्न नमानेको गुनासोसमेत गरे ।  

‘अब हामीले पुलिसमा जाहेरी दिँदा नलिएको अवस्था छ । यी समस्याहरू छन् थुप्रै । हामीहरूकोमा कर्मचारी संगठन, प्राध्यापक संघ र विद्यार्थीको युनियन । यो तीन वटा मात्रै हो । तर विद्यार्थीको २२ वटा दर्ता भएका छन्,’ उनले भने, ‘जति राजनीतिक दल, त्यति नै छन् । कति राजनीतिक दल छन्, मलाई त्यो पनि थाहा छैन । तर ब्यानर लिएर आउँछन् । हाम्रो भाग चाहियो भनेर । यो हामीले बसालेको थिति हो । हामीले गम्भीर भएर एनलाइसिस गरौँ । हामीले नै हटाउने हो । यो भिसी एक्लैले चाहेर हट्दैन माननीयज्यूहरू । मैले यो जानकारी गराए ।’

उपकुलपति बास्कोटाले उनीहरूलाई कारबाहीका लागि काठमाडौंको कुनै एक होटलमा आफूहरूले गरेको मिटिङको माइन्युटसमेत संगठनको आवरणमा केही मानिसले लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले बुझेकोमा असन्तुष्टिसमेत व्यक्त गरे । उनले विश्वविद्यालय राजनीतिक भागबण्डाको थलो भएकाले यसको सुधारमा लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि दोहोर्याए ।  



उपकुलपति बास्कोटाले त्रिविका कतिपय विषयका विद्यार्थीभन्दा शिक्षक बढी भएको स्वीकार गर्दै अब उनीहरूलाई आवश्यकताको आधारमा अध्यापन कार्यमा खटाउने गरी विद्युतीय प्रणालीको व्यवस्था गरिएको बताए ।  



  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १८:५१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया