logo-img

सर्लाहीमा बाढीबाट दुईको मृत्यु, ७२ जनाको उद्धार

सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । यस्तै, मंगलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । 

सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।

त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिकाअन्तर्गत पर्ने हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।



लगत्तै उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका पनि चिकित्सकले मृत घोषणा गरे । बागमतीको बाढीले समनपुर घाटमा सर्लाहीतर्फको सडक बगाएको छ । 

यसैबीच बाढीका कारण बागमती नदीमा फसेका व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । सर्लाहीको धनकौल गाउँपालिकाअन्तर्गत पर्ने महिनाथपुरका स्थानीय मङ्लगबार दिउँसो घाँस काट्न तथा गाईवस्तु चराउन गएका थिए । 

बाढीमा फसेकामध्ये ७० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । कतिपय व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका थिए । 



त्यस्तै, सर्लाहीको रामनगर गाउँपालिका–२ इनरर्वास्थित बागमती नदीमा पुल निर्माणमा चौकीदारको काम गर्ने दुई जनाको प्रहरीले उद्धार गरेको छ ।

बाढी आएपछि दुवै जना ज्यान जोगाउन रुखमा चढेका थिए । लगत्तै उनीहरूको उद्धार गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।  



  • प्रकाशित मिति : साउन २४, २०८० बुधबार ९:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया