पुस्तक अंश : रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

२०११ सालतिर राज्यले छ जना ग्रेजुएट अफिसर र आठजना पोस्ट ग्रेजुएट अफिसरका लागि जागिर खोलेको थियो । म ग्रेजुएटको लागि योग्य थिएँ । २०१२ सालमा परीक्षा भयो । ७९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये म लिखित र अन्तर्वार्ता दुवैमा उत्तीर्ण भएँ । त्यसबेला लोक सेवा पास गर्नु चानचुने कुरा थिएन । मैले लोकसेवा पास गरेर पनि जागिर चाहिँ पाइनँ । 

कारण के थियो भने, तीनधारा पढ्दादेखि आन्दोलनको लत लागेर म २००९ सालतिरै कम्युनिस्ट पार्टीको सदस्य भैसकेको थिएँ । सरकारलाई राज्यले नै जागिर दिएर कम्युनिस्ट पाल्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो भन्ने भएछ । कम्युनिस्ट पार्टीको सदस्य भइसकेकाले मलाई जागिर दिएनन् । 

रहरले कम्युनिस्ट भएको थिएँ । रहरले मात्रै पेट पाल्न सक्दैन । यता घरमा भाइबहिनीहरू हेर्नुपर्ने थियो । जागिर नखाई सुखै थिएन । खसी काटेर मासु बेच्ने काम पाए पनि गर्छु भन्ने भइसकेको थियो, मलाई । जागिर पाउने आशामा म मान्छेहरू भेट्न थालेँ । राजा महेन्द्रका प्रमुख जनसम्पर्क अफिसर पूर्णप्रसाद शर्मा संस्कृत पढेकाकटुञ्जेका मान्छे थिए । उनका दाइ राजनीतिमा लागेका थिए । म पनि राजनीतिमा सक्रिय भएँ भने उनका दाइलाई नोक्सान पर्थ्यो । उनले त्यो कुरा बुझे । अनि एउटा चिर्कटोमा मेरो नाम लेखेर त्यतिबेलाको चर्चित पत्रिका हालखबरमा सिफारिस गरिदिए । हालखबरका प्रोपाइटर रंगनाथ शर्मा थिए । उनलाई भेटेर चिर्कटो दिएँ । उनले म जागिर खोज्न आएको कुरा बुझे । अनि एउटा निवेदन लेख्न लाए । निवेदन लेख्न सुरु गरेको मैले राम्रै निबन्ध तयार गरेछु । 

“साइकल चलाउन जानेको छ कि छैन ?” उनले सोधे ।

“जानेको छु ।” मैले जवाफ दिएँ ।

“ल, साइकल लिएर जानू । भोलिदेखि जागिरे भयो । महिनाको एक सय तलब पाउँछ” शर्माले भने । 



लौन निवेदनको ठाउँमा निबन्ध लेखेर जागिर पाएँ । यहीँबाट सुरु भयो हालखबरको जागिर, पत्रकारिता ।

००० 



पत्रकारिता मलाई अनौठो विधा लाग्यो । कहिले राम्रै हो कि जस्तो लाग्थ्यो । कहिले नराम्रो जस्तो लाग्थ्यो । दोधारे विधा ।

मैले पत्रकारिता सुरु गर्दा पत्रकार हुनु चानचुने कुरै थिएन । एकातिर नेपालका लागि पत्रकारिता नयाँ विषय थियो । आफैं नयाँ बाटोको यात्री । पत्रकारलाई कसरी उत्तर दिने भन्ने कुरा अधिकांश नेताहरूलाई थाहै थिएन । अर्कातिर विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य जस्ता नेता थिए । जसले पत्रकारिताको महत्व बुझेका थिए । उनीहरू चाहिँ पत्रकारसँग नजिक हुन चाहन्थे । 

हालखबरलाई पनि खबर चाहिन्थ्यो । खबरका लागि प्रायजसोः बिहानै डिल्लीरमण रेग्मी, टंकप्रसाद आचार्य, वीपी कोइराला लगायतकहाँ जान्थेँ । त्यहाँ गाउँबाट आएका मान्छेहरू हुन्थे । उनीहरूसँग खबर बुझ्थेँ । सरकारी खबरका लागि चाहिँ म गयाप्रसाद शाहहरूकहाँ जान्थेँ । उहाँ खाद्य संस्थानमा हाकिम हुनुहुन्थ्यो । त्यतिबेला समाचारको रूप यस्तो हुन्छ भन्ने नै थाहा थिएन । जे लेखे पनि खबर । नेताको कुरा लेखेर जनतासम्म पुर्‍याउनु पनि खबर । जे होस् ठूला र चिनिएका व्यक्तिहरूसँगको उठबसले पनि मलाई पत्रकारिता गरिरहन प्रेरित गर्‍यो । नेतालाई भेट्न देशभरिबाट मान्छेहरू आउँथे । भेटघाटमा आ–आफ्ना समस्या सुनाउँथे । म तिनै समस्याहरूलाई खबर बनाउँथे ।

नेता भेट्न काठमाडौं आएका नागरिकको समस्या सुन्ने अनि त्यसलाई अखबारमा छाप्ने गर्नाले म अझ चिनिन थालेँ । म लाज नमानी उनीहरूलाई हरहिसाब सोध्थेँ । उनीहरू पनि सुनाउँथे । अखबारका खबरले जनताहरूलाई जागरूक गराउँथ्यो ।

हालखबरलाई त्यतिबेला चार पैसा पर्थ्यो । पृष्ठ पनि चारवटै हुन्थ्यो । दुई सयप्रति पत्रिका बिकेको दिन अफिसमा उत्सव नै हुन्थ्यो । दुई सयप्रति बिकेपछि बल्ल अरू प्रति छापिन्थ्यो । 

गोरखापत्र सरकारी भएकाले आफ्नै तरिकाले समाचार दिन्थ्यो । पर्दा त्यहाँका सम्पादक नै समाचार सङ्कलन गर्न जान्थे । अन्त संवाददाता राख्ने चलन थिएन । म नै नेपालको पहिलो संवाददाता थिएँ । त्यति नै बेला संयुक्त राष्ट्रसंघका सेक्रेटरी जेनरल उथान्त नेपाल भ्रमणमा आए । सम्पादकले उनको अन्तर्वार्ता लिन पठाउनुभयो । म अङ्ग्रेजी नजान्ने, उथान्त नेपाली नजान्ने । बडो अप्ठेरो पर्‍यो । के गर्ने, गर्ने !

धन्न ठूला मान्छेहरू बोलेको टिप्न मिल्ने गरी बिस्तारै बोल्ने रहेछन् । उथान्तले अङ्ग्रेजीमा बोले । उनले बोलेका कुरा मैले अङ्ग्रेजी भाषामै तर देवनागरी लिपिमा टिपेँ । अफिस आएर टिपेको कुरा पढेँ । सम्पादकले यसोयसो हो भनेर अनुवाद गर्नुभयो । समाचार बन्यो । निरन्तर काम गर्दै गएँ । म साँच्चै नै पत्रकार भएँ । पत्रकार बन्न र निरन्तरता दिन अङ्ग्रेजी भाषाले पनि रोक्न सकेन । 

२ सय रुपैयाँ घुस 

मैले हालखबरमा रहेर २०१३ सालदेखि २०१६ सालसम्म काम गरेँ ।

हालखबरमा हुँदा म सिंहदरबारमा रिपोर्टिङ गर्न गैरहनुपथ्र्यो । व्यापार, वाणिज्य, पारवहन लगायतका कुरा बुझ्न खोज्थेँ । तर भित्र को–को छन्, कति जना छन् भन्ने कुरा कसैले पनि भन्न खोज्दैनथे । बल्लबल्ल भनिहालेछन् भने पनि पूरा बताउँदैनथे । 

मसँगै अरू साथीहरू पनि हुनुहुन्थ्यो । हामीले एउटा उपाय लगायौँ– चिया खुवाउने पालेले ओसार्ने चियाका कप नियालेर हेर्न थाल्यौँ । जतिवटा कप भित्र जान्छन् त्यही आधारमा भित्र यति जना रहेछन् भनेर अड्कल काट्यौँ । यो उपायले एकपटक मात्र होइन, धेरै पटक काम दियो ।

सिंहदरबारमै रिपोर्टिङमा जाँदा त्यहाँ मन्त्रालयका सचिवले बजारमा नुन, मट्टीतेल, चिनी सबै पाइन्छ भनेर समाचार छाप्न लगाउँथे । अरूले भन्दैमा म पनि कहाँ गरिहाल्थेँ र !

“तपाईँले भन्दैमा छाप्छु र ?” मैले प्रश्न गर्थेँ ।

सचिवले धम्की दिन्थे, “म को हुँ ? चिनेका छौ ?” 

म नम्रै भएर जवाफ फर्काउँथें, “तपाईं सचिव हो ।”

के गर्ने रिसाएर हुँदैनथ्यो । फेरि-फेरि काम लाग्ने मान्छे थिए । म नै चुप लागिदिन्थे ।

एकपटक अञ्चलाधीशले एक बोरा चिनी, एक बोरा नुन र एक टिन मट्टीतेल घरमा लगेर राखेका छन् भन्ने थाहा पाएँ । अनि के चाहियोर ! “तपाईंको घरमा पो पाइन्छ, बजारमा जनताले किन्न पाएका छन् र ?” र्‍याखर्‍याख पार्न थालें । उनले आफू ठूलो सरकारी कर्मचारी भएको धम्की दिनथाले । उनी मात्र होइन, यस्ता पदमा भएका अधिकांशले धम्की दिन्थे । धम्कीदेखि डरायो भने डरायो नडराएको खण्डमा अरू उपाय लगाउँथे । कसै गर्दा पनि लागेन भने उनीहरू आफैं पनि हच्किन्थे, पत्रकारले साँचो लेखिदेला भनेर । पत्रकारलाई कसले साँचो बोल्दैछ, कसले झुटो बोल्दैछ बुझ्नलाई खासै गाह्रो पर्दैन । उनीहरूसँग सम्बन्धित विषयमा प्रश्न राखेमा ढाँट्ने, छल्ने प्रयास हुन्थ्यो । त्यो बुझेपछि मलाई उनीहरूसँग डर लाग्दैनग्यो । मलाई धम्कीले पनि नछोएपछि उनीहरू लोभ देखाउँथे । म उनीहरूको लोभमा पनि पर्दिनथेँ ।

तर एक दिन यस्तो परिबन्द आयो मसँग लोभ नहुँदानहुँदै पनि मबाट एउटा गल्ती भयो । यस्तो परिबन्द अरूलाई पर्छ पर्दैन थाहा छैन । विशेष प्रहरीका हाकिम मकलबहादुर बान्तावाले मलाई एकपटक सय रुपैयाँ घुस दिए । सधैंजसो अड्डा छुट्ने बेलामा म उनकोमा गएँ । “मसँगै जाने है” उनले भनेका थिए । म पनि केही
नसोची उनीसँगै मोटरमा गएँ । सिंहदरबार अगाडि, पृथ्वीनारायण शाहको सालिक नजिक पुगेपछि “तपाईँलाई खर्च” भन्दै उनले एक सय रुपैयाँ थमाइदिए ।  

“मलाई पैसा चाहिँदैन” मैले भनेँ ।  

“किन बढ्ता हुनुहुन्छ ?” उनले उल्टै हप्काए ।

म छक्क पर्दापर्दै उनी हिँडिहाले । मैले त्यो नोट त्यसबेलै च्यात्नुपर्ने थियो तर मैले त्यसो गर्न सकिनँ । उनी हिँडिहाले । मैले त्यो नोट राखेँ । मैले साँचो बोल्नुपर्छ । अर्को पटक पनि त्यस्तै भयो । हुम्ला घुम्न जाँदाको कुरा । रुद्रप्रसाद गिरीले बाटो खर्च भनेर एक सय रुपैयाँ हातमा हालिदिए । 

रुद्रप्रसाद र मकलबहादुरले दिएको दुई सय रुपैयाँबाहेक मैले तलबभन्दा बाहेक कसैबाट पैसा लिएको छैन । उक्त २०० रुपैयाँ फिर्ता गर्ने सोच पनि आएको थियो । तर परिस्थिति अर्कै भइसकेको थियो । १०० रुपैयाँको मूल्य निकै कम भइसकेको थियो । थपेर दिन मन लागेन । त्यति नैदिऊँ के लेलान् भन्ने सङ्कोच लागेर मैले
पैसा फिर्ता दिन सकिनँ ।

यसरी म २ सय रुपैयाँ घुस खाने घुस्याहा भएँ ।  

यो पुस्तक अंश वरिष्ठ पत्रकार भैरव रिसालको प्रकाशोन्मुख जीवनी ‘भैरव दाइ’ बाट लिइएको हो । लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) ले प्रकाशन गरेको यस पुस्तकको भोलि (शनिबार) लोकार्पण हुँदैछ ।

  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार १८:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया