घोगा लाग्ने बेलामा हावाहुरीले मकै बाली नष्ट, ५० लाखभन्दा बढीको नोक्सानी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्‍याएको छ । घोगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौं रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो ।  

वडा नम्बर १ र २ को सेन्नामा, पहिराे, बोङ्गानी, सोम्मरलगायतका गाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्णरूपमा नष्ट भएको तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले जानकारी दिए । शनिबार राती र आइतबार बिहान आएको हुरीले मकै बालीमा क्षति पुगेको उनको भनाइ छ ।

७ सय रोपनीमा लगाएको मकै कामै नलाग्ने गरी ढलेपछि किसानले ५० लाख रुपैयाँभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताए । किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली बारीमै पुगेर क्षतिको विवरण लिएको उनको भनाइ छ । मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्‍याएको उनले बताए । दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने शाखा प्रमुख पराजुली बताउँछन् । 

‘किसानको बारीमा पुग्दा कुनै पनि मकैका बोट ठाडो देखिँदैनन्, सबै ढलेर कामै नलाग्ने भएका छन्, अब ती ढलेका मकैका बोटबाट किसानले एउटा गेडा पनि उत्पादन गर्न सक्ने अवस्था छैन, गेडा हालिसकेको भए, केही उत्पादन हुने सम्भावना हुन्थ्यो, अहिले ठ्याक्क घोगामा गेडा हाल्ने समय भएको थियो’, शाखा प्रमुख पराजुलीले भने, ‘अहिले प्रारम्भिक विवरण लिएका छौँ, प्रारम्भिक विवरणमा करिब रु ५० लाख नोक्सानी भएको अनुमान छ, केही दिनमै पूरै विवरण आउने छ, त्यसमा अलि बढ्ने सम्भावना देखिन्छ, किसानले धेरै ठाउँमा मकै ढलेको जानकारी गराउनुभएको छ ।’ 

उनले अहिलेसम्म यहाँका किसानले कृषि बीमा नगरेको बताए । बीमा गरेको भए केही सहुलियत मिल्ने पराजुलीको भनाइ छ । यस वर्षदेखि किसानलाई कृषि बीमाको दायरामा ल्याउने तयारी गरिरहेको उनी बताउँछन् । यहाँका अधिकांश किसानले रैथाने जातका मकै लगाएको पराजुलीले बताए ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले यस क्षेत्रमा हावाहुरीले अहिलेसम्मकै ठूलो क्षति पुर्‍याएको बताए । किसानले जानकारी गराएपछि बारीमै पुगेर क्षतिका बारेमा बुझेको भन्दै पीडित बनेका किसानलाई पालिकाबाट राहतको व्यवस्था गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सबै वडामा प्राविधिक खटाएर सबै क्षतिको विवरण ल्याएर सोहीअनुसार राहतका बारेमा प्रदेश र केन्द्र सरकारसँग पनि माग गर्ने उनले बताए ।  



वर्षा र हावाहुरीले मकैका सबै बोट भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । जिल्लाको मुख्य खाद्य बालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि मकैको उत्पादन घट्ने अनुमान गरिएको छ । हरेक वर्ष मकै बालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले मकैको छ । तमानखोलाको मकै जोन क्षेत्र भए पनि अघिल्लो वर्ष मकैको बिउ फरक पर्दा उत्पादनमा निकै गिरावट आएको थियो । यसपालिको हुरीले वर्षभरिको छाक खोसी दिएको स्थानीय किसान खिमबहादुर छन्त्यालले बताए । 

‘पोहोरपरार साल बारीमा राम्रो मकै उत्पादन हुन्थ्यो र पनि वर्षभरि खान पुग्दैनथ्यो, अहिले त एक पाथी पनि फल्न नपाउँदै हुरीले मकै बारी भरी लडाइँ दियो, एउटा पनि बारीको मकै ठाडो छैन, सबै ढलेका छन्, कति दुःख गरेर खेती गरेको, एकैछिनको हावाहुरीले यस्तो बनाइदियो, अब के खाएर वर्ष गुर्जाने हो ?,’ उनले प्रश्न गरे । रासस 



  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार ८:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया