गुलजार कटारी बजार अहिले सुनसान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै 
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै 
पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार...  

तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ सोलुखुम्बुको एक मात्र नुन तेल  भाँडावर्तन, अन्नपात,  मरमसला किन्ने थलो थियो कटारी बजार ।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किँदा ढाक्रेहरूले साहुका सामान बोकेर जान्थे । ‘त्यतिबेलाको कटारी बजार त गुलजार थियो,’ २०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भने, ‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’

साह सिरहाको बन्दिपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरूसँग कटारी बजार आइपुगेका थिए । ‘बाटो थिएन मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए’, साह भन्छन्, ‘धनुषा, सिरहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरू आउँथे ।’ कटारी बजार सगरमाथाको द्वारको रूपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ्ग शेर्पा र एडमण्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाका बताउँछन् । 

वि.सं २०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । विस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया कटारी हुँदै २०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री स्व. बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।

सडक निर्माणसँगै पहाडी जिल्लाहरूमा सामग्री ढुवानी सहज त भयो तर त्यसपछि यो सडकले स्तरोन्नती हुन पाएन । मिर्चैया–कटारी २६ किमी र कटारी–घुर्मी ४४ किमी सडक जीर्ण भएका कारण मानिसहरू हिँड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘बीच बाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिसहरू त्यतैबाट हिँड्न थाले ।’  



सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी विस्तारै टोले बजारमा परिणत भयो ।  

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने वाध्यता हट्यो । बाटो छोटो भए पनि स्तरोन्नती नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिसहरू सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटल व्यवसायी प्रताप राई भन्छन्, ‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्थ्यो ।’



कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अरुण साह बताउँछन् । उनी भन्छन्, ‘व्यापारीहरू अन्यत्र पलायन थालिसके, बजारमा किनमेल छैन । ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो ।’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीको चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ बताउँछन् । रासस

  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १२:११:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया