logo-img

आइटीमा आकर्षण : नेपालका यी कलेजमा हुन्छ आइटीको पढाइ
कुन कोर्स पढ्न कुन कलेज जाने ?

कक्षा १२ उत्तीर्ण भइसकेपछि विद्यार्थीलाई स्नातक तहमा कुन संकायमा पढ्ने वा कुन विषय छनोट गरेर पढ्ने भनेर दोधार भएको पाइन्छ । पछिल्ला केही वर्षयता नेपालको शिक्षा क्षेत्रमा सूचना प्रविधि (आइटी) शिक्षा पनि एकदम चर्चाको विषय बनेको छ । र, यसप्रति विद्यार्थीको जिज्ञासा पनि बढ्दो देखिन्छ । 

कक्षा १२ पास गरिसकेपछि स्नातक तहमा पढाइ हुने विषयमध्ये आइटी पनि एक हो । हिजोआज आइटी शिक्षा निकै व्यापक बन्दै गइरहेको छ । नेपालमा आइटीको महत्त्व र आवश्यकता बढ्दै गएको छ । हरेक क्षेत्रमा आइटीबारे छलफल भइरहँदा यसमा रुचि राख्ने कतिपय विद्यार्थी थप अलमलमा पर्न सक्छन् । 

आइटी शिक्षामा इन्जिनियरिङ, कम्प्युटर साइन्सबाहेक अन्य विषय पनि अध्यापन हुन थालेको छ । यसको पछिल्लो उदाहरण हो, व्यवस्थापनको विषयमा आइटी जोडिनु । त्यसैगरी, स्नातक तहमा नै विशिष्टकृत (स्पेसिफिक) कोर्स पनि अध्ययन हुन थालेको छ । जस्तैः काठमाडौं विश्वविद्यालयको बी टेक इन एआई ।



योसँगै नेपालमा विदेशी विश्वविद्यालयका आइटी कोर्स पनि सञ्चालनमा छन् । यसले गर्दा नेपाली विश्वविद्यालयको कोर्स पढ्ने कि विदेशी विश्वविद्यालयको, उनीहरूलाई दोधार हुन सक्छ । कक्षा १२ पछि आइटी कोर्समा कस्ता विकल्प छन्, विद्यार्थीलाई आइटी शिक्षाबारे जानकारी दिने हेतुले फरकधारले यो आलेख तयार पारेको हाे ।

त्रिभुवन विश्वविद्यालय



बिएससी सिएसआइटी

पूरा रूप ब्याचलर्स अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन रहेको कोर्स कम्प्युटर विज्ञान र आइटीलाई मिलाएर बनाइएको छ । यसमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत आइटीसँग सम्बन्धित कोर्स रहेको छ । यो त्रिविअन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत सञ्चालन भइरहेको छ । यो कूल १२६ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर)को कोर्स हो ।



जसमा ७५ क्रेडिट कम्प्युटर साइन्स, १५ केडिट आवर इलेक्टिभ्स, १२ क्रेडिट आवर नेचुरल साइन्स, ६ क्रेडिट आवर म्यानेजमेन्ट, ६ क्रेडिट आवर म्याथ, ३ क्रेडिट आवर टेक्निकल राइटिङ र ९ क्रेडिट आवर प्रोजेक्ट तथा इन्टर्नसिपका लागि छुट्याइएको छ ।

विद्यार्थीले चार वर्षको अवधिमा ४० वटा विषयको अध्ययन गर्नुपर्ने हुन्छ । यो कोर्स त्रिविको आंगिक क्याम्पस र विभिन्न सम्बन्धनप्राप्त कलेजहरूले अध्यापन गराइरहेका छन् । यो कोर्स उत्तीर्ण गरेपछि विद्यार्थीले सफ्टवेयर डेभलपर, वेब डेभलपर, आइटी म्यानेजर अफिसर, सिस्टम एनालिस्ट, प्रोजेक्ट एनालिस्ट आदि भूमिकामा काम गर्न सक्छन् ।

बिआइटी

त्रिविले ०७६ बाट सुरु गरेको यो कोर्स (ब्याचलर इन इन्फर्मेसन सिस्टम) चार वर्षे (आठ सेमेस्टर)को रहेको छ । यसको प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ रहेको छ । यस कोर्समा आइटीबाहेक अर्थशास्त्र र समाजशास्त्रजस्ता विषय पनि राखिएको छ । यसमा डिजिटल लजिक, सी प्रोग्रामिङ, अपरेटिङ सिस्टम, नेटवर्क एण्ड डेटा कम्युनिकेसन, एआईजस्ता विषय समेटिएको छ । यो कोर्सको अध्ययनपछि विद्यार्थी नेटवर्क इन्जिनियर, बिजनेस एनालिस्ट, नेटवर्क सेक्युरिटी इन्जिनियर, डेटाबेस इन्जिनियर आदि बन्न सक्छन् ।

बिआइएम

त्रिविको व्यवस्थापन संकायअन्तर्गतको यो कोर्स (ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट) चार वर्ष अर्थात् आठ सेमेस्टरको रहेको छ । यसमा ६० प्रतिशत कम्प्युटर विज्ञान र ४० प्रतिशत व्यवस्थापनको विषय राखिएको छ ।

कूल १२६ क्रेडिट आवरको यो कोर्समा २४ क्रेडिट आवरको फाउन्डेसन कोर्स, ३० क्रेडिट आवरको बिजनेस कोर्स, ६० क्रेडिट आवरको आइटी एण्ड कम्प्युटर कोर्स, ६ क्रेडिट आवरको इलेक्टिभ कोर्स र ६ क्रेडिट आवरको इन्टर्नसिप रहेको छ ।

बिसिए

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत यो कोर्स (ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन) रहेको छ । चार वर्षे यो शैक्षिक कार्यक्रम अध्ययन गरेपछि प्रोग्रामिङ ल्यांग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफ्टवेयरको क्षेत्रमा काम गर्न सकिन्छ । 
यस कोर्समा आइटी र कम्प्युटर एप्लिकेसनका विषय पढाइ हुन्छ । यो कोर्स गरेपछि कम्प्युटर एण्ड इन्फर्मेसन सिस्टम म्यानेजर, कम्प्युटर सिस्टम स्पेसलिस्ट, आइटी अफिसर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एडमिनिस्ट्रेटर आदि क्षेत्रमा करिअर बनाउन सकिन्छ ।

बिएड इन आइसिटी

त्रिविले यो कोर्स (बिएड इन इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी) पहिलोपटक ०६३ बाट सुरु गरेको हो । यो कोर्सको अध्ययनपछि विद्यार्थी आधुनिक शैक्षिक प्रणाली र कम्प्युटर विज्ञानसँग परिचित हुन सक्छन् ।

यस कोर्समा सूचना तथा सञ्चार क्षेत्रका प्राविधिक सीप तथा ज्ञान जस्तै; प्रोग्रामिङ, नेटवर्किङ, डेटावेस व्यवस्थापन, एआई, शिक्षाका आधारभूत प्रविधि तथा विद्युतीय सुशासनलगायत शैक्षिक मनोविज्ञान, शिक्षण पद्धति (टिचिङ पेडागोजी)जस्ता विषय राखिएको छ ।

बिई कम्प्युटर इन्जिनियरिङ

यो कोर्स कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङको मिश्रित कोर्स हो । यसले गर्दा यो कोर्सको अध्ययनपछि विद्यार्थीहरू कम्प्युटर हार्डवेयर र सफ्टवेयर विकास गर्न सक्षम हुन्छन् । यो चार वर्षे (आठ सेमेस्टर) कोर्स हो ।

यो कोर्सको अध्ययन गरेका विद्यार्थीले कम्प्युटर सिस्टमको एप्लिकेसन डिजाइन र डेभलप गर्न सक्छन् । कोर्सको अध्ययनपछि विद्यार्थीहरू सफ्टवेयर इन्जिनियर, सिस्टम एड्मिनिस्ट्रेटर, नेटवर्क एड्मिनिस्ट्रेटर, वेब डेभलपर–एड्मिनिस्ट्रेटर–म्यानेजर, टेलिकम्युनिकेसन इन्जिनियर आदि बन्न सक्छन् ।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ

यो कोर्स हार्डवेयर उद्योग, सञ्चार उद्योग र कम्प्युटर उद्योगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ । यसअन्तर्गत इलेक्ट्रोनिक्स सर्किट्सको डिजाइन र डेभलप गर्न इलेक्ट्रोनिक्स इन्जिनियरिङको भूमिका हुन्छ । त्यस्तै, सिग्नलको क्षेत्रमा काम गर्ने जस्तो; एनालग सिग्नल, डिजिटल सिग्नल, आइएसपी, टेलिकम उद्योगका लागि कम्युनिकेसन इन्जिनियरको भूमिका हुन्छ ।

साथै, आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, क्लाउड कम्प्युटिङमा रुचि हुनेहरूलाई इन्फर्मेसन इन्जिनियरिङको भूमिका हुन्छ । यसकारण यो कोर्स यी तीन क्षेत्रको मिश्रित कोर्स हो । यो कोर्स अध्ययनपछि विद्यार्थीहरू इलेक्ट्रोनिक्स डिभाइस म्यानुफ्याक्चरिङ उद्योग, टेलिकम्युनिकेसन कम्पनी, सिभिल एभियसन, हाइड्रोपावर आदि क्षेत्रमा काम गर्न सक्छन् ।

काठमाडौं विश्वविद्यालय

बिई इन कम्प्युटर साइन्स

यस कोर्समा विशेषगरी कम्प्युटर विज्ञानको गहिरो अध्ययन हुन्छ । जसअन्तर्गत आधारभूत सिद्धान्त, एल्गोरिदमदेखि रोबोटिक्स, कम्प्युटर भिजन, एआई सिस्टम, बायोइन्फर्मेटिक्सलगायत विभिन्न क्षेत्र पर्छन् । 

यस कोर्स गरेका विद्यार्थीहरू कम्प्युटर समस्या समाधान गर्न सक्षम हुन्छन् । कम्प्युटरको प्रयोगबारे अन्वेषण गर्छन् । साथै सफ्टवेयरको विकास र तिनको प्रयोग गर्छन् । 

बी टेक इन एआई

काठमाडौं विश्वविद्यालय हालै सुरु गरेको नयाँ ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स हो । स्नातक तहका विद्यार्थीलाई एआईबारे व्यापक ज्ञान दिन यो कोर्स तयार पारिएको हो ।

विद्यार्थीले यसमा परियोजनामा आधारित भएर एआईबारे सिक्न सक्छन् । यसका लागि विश्वविद्यालयले एआई कम्पनी फ्युज मसिनसँग समेत सहकार्य गरेको छ । कोर्स अध्ययनपछि विद्यार्थी मसिन लर्निङ–डिप लर्निङ विज्ञ–एनालिस्ट, एआई प्रोफेसनल, एआई स्पेसलिस्ट, एनालिटिक्स कन्सल्ट्यान्ट आदि बन्न सक्छन् ।

बिटेक बायोटेक्नोलोजी

ब्याचलर अफ साइन्स इन बायोटेक्नोलोजी कूल १५१ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) कोर्स हो । कोर्समा विद्यार्थीले बायोटेक्नोलोजीको ज्ञान र सीप प्राप्त गर्न सक्छन् ।

यस कोर्समा माइक्रोबायोलोजी, इम्युनोलोजी, बायोकेमिस्ट्रीको आदिको ज्ञानसमेत विद्यार्थीले प्राप्त गर्छन् । कोर्सको अध्ययनपछि विद्यार्थी बायोटेक्नोलोजिस्ट, क्लिनिकल टेक्निसियन, सफ्टवेयर डेभलपर, डिएनए एनालिस्ट आदि बन्न सक्छन् । 

बिएससी इन बायोइन्फर्मेटिक्स

काठमाडौं विश्वविद्यालयले हालै यो कोर्स सुरु गरेको हो । यस कोर्समा बायोलोजी (जीव विज्ञान)मा भएका डेटालाई कम्प्युटरको प्रयोग गरी अध्ययन तथा विश्लेषण गरिन्छ । कूल १३८ क्रेडिट आवरको यो चार वर्षे (आठ सेमेस्टर)को कोर्स हो ।

यसमा जीव विज्ञान, कम्प्युटर र गणितका विषय मिसाइएको छ । कोर्सको अध्ययनपछि विद्यार्थीले बायोइन्फोर्मेटिक्स अथवा आइटी कम्पनीहरूमा डेटा वैज्ञानिक, सूचना विश्लेषक, सफ्टवेयर डेभलपर आदिका रूपमा काम गर्न सक्छन् । त्यस्तै, कृषि, औषधि उत्पादन, मटेरियल डिजाइनजस्ता क्षेत्रमा पनि काम गर्न सकिन्छ । 

बिबिआइएस

यो चार वर्ष (आठ सेमेस्टर)मा सकिने १४१ क्रेडिट आवरको कोर्स हो । यो इन्फर्मेसन सिस्टम, इन्फर्मेसन टेक्नोलोजीसँग बिजनेस एण्ड म्यानेजमेन्टसँग मिलाएर बनाइएको कोर्स हो । यस कोर्समा विशेषतः व्यावसायिक क्षेत्रमा सञ्चार प्रविधि कसरी व्यवस्थापन गर्ने, कसरी प्रयोग गर्ने भन्नेजस्ता कुराको पढाइ हुन्छ ।

बिएससी इन कम्प्युटेसनल म्याथम्याटिक्स

काठमाडौं विश्वविद्यालयले सन् २०१७ देखि यो कोर्स अध्यापन गराउन थालेको हो । यो गणित र कम्प्युटर विज्ञानको मिश्रित कोर्स हो । १४३ क्रेडिट आवरको चार वर्षे (८ सेमेस्टर) यो कोर्समा फन्डामेन्टल १२, म्याथम्याटिक्स ४०, कम्प्युटर २५ प्रतिशत पढ्नुपर्छ ।

त्यसैगरी, इन्जिनियरिङ ११, इलेक्टिभ २ र प्रोजेक्ट वर्कको विषय १० प्रतिशत समावेश गरिएको छ । कोर्सको अध्ययनपछि विद्यार्थी डेटा, आइटी तथा सफ्टवेयर उद्योग, वित्तीय क्षेत्र आदिमा काम गर्न सक्छन् ।

पोखरा विश्वविद्यालय

बिसिआइएस 

बिसिआइएस (ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम) आइटी र म्यानेजमेन्टको मिश्रित कोर्स हो । जसमा ६० प्रतिशत आइटी र ४० प्रतिशत म्यानेजमेन्टका विषय समावेश गरिएको छ ।

कुनै पनि कम्पनी चलाउन आइटी र म्यानेजमेन्टको ज्ञान आवश्यक पर्छ । त्यसैले आइटी र म्यानेजमेन्टको विषय मर्ज गरेर यो कोर्स बनाइएको हो । यसमा डेटा प्रोसेसिङ, नेटवर्क, सफ्टवेयर निर्माण र व्यवस्थापनका विषय पढ्नुपर्छ । हार्डवेयर र सफ्टवेयर दुवैका लागि चाहिने जनशक्ति उत्पादन गर्नु यो शैक्षिक कार्यक्रमको उद्देश्य हो ।

बिई आइटी

यो कोर्स कम्युनिकेसन टेक्नोलोजी र इन्फर्नेसन टेक्नोलोजीको मिश्रण हो । अहिलेको बढ्दो सूचना र सञ्चार प्रविधि उद्योगको आवश्यकता पूरा गर्न यो कोर्स डिजाइन गरिएको छ । 

यो कूल १३३ क्रेडिट आवरको चार वर्षे आठ सेमेस्टरको कोर्स हो । कोर्समा कम्युनिकेसन टेक्निक, नेटवर्क थ्यौरी, डेटा एण्ड फाइल स्ट्रकचर, डेटाबेस सिस्टमजस्ता विषय रहेका छन् ।

बिई सफ्टवेयर इन्जिनियरिङ

पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०१८ बाट यो कोर्स सञ्चालन गर्न थालेको हो । सफ्टवेयरको डिजाइन, डेभलप र इम्प्लिमेन्ट गर्न सघाउने हिसाबले यो कोर्स डिजाइन गरिएको हो । यो विशेषतः इन्जिनियरिङ, कम्प्युटिङ, प्रोजेक्ट म्यानेजमेन्ट र सफ्टवेयर डेभलपमेन्टको मिश्रित कोर्स हो ।

यसमा सफ्टवेयर इन्जिनियरिङ फन्डामेन्टल, प्रोब्याब्लिटी एण्ड क्युनिङ थ्यौरी, माइक्रोप्रोसेसर एण्ड एसेम्ब्ली ल्यांग्वेज, अब्जेक्ट ओरियन्टेड डिजाइन एण्ड मोड्युलेसन थ्यौरी युएमएल, प्रिन्सिपल अफ प्रोग्रामिङ ल्यांग्वेज, रियल टाइम सिस्टम, डिस्ट्रिब्युटेड सिस्टम आदि विषयको पढाइ हुन्छ ।

यो १३३ क्रेडिट आवरको कोर्स हो । यो कोर्सको अध्ययनपछि विद्यार्थीहरू सफ्टवेयर डेभलपर, बिजनेस इन्फर्मेसन एनालिस्ट, वेब डेभलपर, कम्प्युटर सिस्टम एनालिस्ट आदि बन्न सक्छन् ।

बिई कम्प्युटर इन्जिनियरिङ

यो चार वर्षे (आठ सेमेस्टर) को १३८ क्रेडिट आवरको कोर्स हो । यो कोर्सको उद्देश्य कम्प्युटर सिस्टमको एनालिसिस, डिजाइन र मूल्यांकन गर्नसक्ने दक्ष कम्प्युटर इन्जिनियर उत्पादन गर्नु हो ।

यस कोर्स अध्ययन गर्ने विद्यार्थीहरू कम्प्युटर सफ्टवेयरसँगै हार्डवेयरमा पनि दक्षता राख्न सक्छन् । यसमा इलेक्ट्रोनिकल, इलेक्ट्रोनिक्स इन्जिनियरिङका कोर्स पनि राखिएको छ । 

बिसिए

यो चार वर्षे (आठ सेमेस्टर) कोर्स हो, जहाँ बिजनेस एण्ड म्यानेजमेन्ट र आइटीको मिश्रण देख्न सकिन्छ । यस कोर्समा बिजनेस एण्ड टेक्निकल कम्युनिकेसन, भिजुअल प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, अप्लाइड इकोनोमिक्सलगायत अन्य विषय छन् । यो १२५ क्रेडिट आवरको कोर्स हो ।

ब्याचलर अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ

कूल १२५ क्रेडिट आवरको यो कोर्सले इलेक्ट्रोनिक्स र कम्युनिकेसन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । यस कोर्सको अध्ययनपछि विद्यार्थीहरू हाइड्रो, टेलिकम्युनिकेसनलगायत अन्य क्षेत्रमा काम गर्न सक्छन् ।

यसमा नेटवर्क थ्यौरी, माइक्रोप्रोसेसर, एनालग कम्युनिकेसन, सिग्नल एण्ड सिस्टम, इन्जिनियरिङ इकोनोमिक्सजस्ता विषय पढ्नुपर्छ ।
पूर्वाञ्चल विश्वविद्यालय

बिआइटी

कूल १४० क्रेडिट आवरको यो चार वर्षे (आठ सेमेस्टर) कोर्स हो । विश्वविद्यालयले पहिलोपटक सन् २००१ मा यो कोर्स ल्याएको हो । हाल विश्ववद्यालयले आफ्ना आंगिक कलेजहरूमा ४० वटा कोटा निर्धारण गरेको छ ।

कोर्समा विद्यार्थीहरूलाई सूचना प्रविधिको आधारभूत ज्ञानदेखि प्रोग्रामिङ, कम्प्युटर नेटवर्क र टेलिकम्युनिकेसनसम्मका विषय राखिएको छ । साथै प्रोग्रामिङसँगै कम्प्युटर प्रणाली डिजाइन, कम्प्युटर आर्किटेक्चर र सञ्चारको बारेमा समेत ज्ञान लिन सकिन्छ । अध्ययनको क्रममा विद्यार्थीले इन्टरनेट तथा वेब, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स, मोबाइल टेक्नोलोजीको क्षेत्रमा सीप विकास गर्न सक्छन् ।

बिसिए

विश्वविद्यालयले नेपालमा पहिलोपटक सन् १९९९ मा यो कोर्स सुरु गरेको हो । यो चार वर्षे (आठ सेमेस्टर)को कोर्स हो । यसमा कम्प्युटर फन्डामेन्टल, प्रोग्रामिङ ल्यांग्वेज, डेटाबेस सिस्टम, इन्फर्मेसन सेक्युरिटी, वेब डेभलपमेन्ट, भिजुअल स्टुडियोलगायतका विषय सिकाइन्छ ।

बि टेक इन एआई

विश्वविद्यालयले गत शैक्षिक सत्रदेखि यो कोर्स सञ्चालन गर्ने भने पनि विद्यार्थी नआउँदा सुरु हुन सकेन । चार वर्षे (आठ सेमेस्टर)को यस कोर्समा विद्यार्थीले ह्युमन इन्टेलिजेन्स जस्तै; भिजुअल पर्सेप्सन, स्पिच रिकग्निसन, डिसिजन मेकिङ, ल्यांग्वेज प्रोसेसिङ आदि सिक्न सक्छन् ।

विदेशी विश्वविद्यालयका आइटी कोर्स

साइबर सेक्युरिटी

नेपालमा विभिन्न कलेजले फरक–फरक विश्वविद्यालयबाट सम्बन्धन लिएर साइबर सेक्युरिटीका कोर्स सञ्चालन गरिरहेका छन् ।

बिएससी (अन्स) इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी

बेलायतको कोभेन्ट्री युनिभर्सिटीबाट सम्बन्धन लिएर सफ्टवेरिका कलेजले यो विषय सञ्चालन गरिरहेको छ । 

बिएससी (अन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक

युनिभर्सिटी अफ द वेस्ट इंग्ल्यान्डसँगको सहकार्यमा द ब्रिटिस कलेजले यो चार वर्षे कोर्स सञ्चालनमा ल्याएको छ । 

बिएससी (अन्स) कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी

लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएर इस्लिङ्टन कलेजले यो विषयमा अध्यापन गराइरहेको छ । 

नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी (बिसिए)

मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर काठमाडौंको टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले यो कोर्स सञ्चालन गरिरहेको छ ।

बिसिएस (आइटी) इन साइबर सेक्युरिटी एण्ड नेटवर्किङ 

काठमाडौं उपत्यकाबाहिर चितवनमा फोर्ब्स कलेजले युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्स लोद्ज, पोल्याण्डको आइटी सेक्युरिटीको कोर्स सञ्चालन गरिरहेको छ । 

बिसिएस (अन्स) नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी (बिसिएस)

केएफए बिजनेस स्कुल काठमाडौंले मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर यो कोर्सको अध्यापन गराइरहेको छ ।

बिएसआइटी नेटवर्क, साइबर सेक्युरिटी एण्ड इथिकल ह्याकिङ

किङ्स कलेजले अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धनप्राप्त गरी साइबर सेक्युरिटी कोर्स चलाइरहेको छ ।

बिएससी (अनर्स) इन कम्प्युटिङ

नेपालमा यो कोर्स इस्लिङ्टन कलेज, काठमाडौंले  लण्डन मेट्रोपोलिटन युनिभर्सिटी युके, क्याम्ब्रिज युनिभर्सिटीबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेको छ । 

युसिएसआई युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर इन्स्टिच्युट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्सले यो कोर्स सञ्चालन गरिरहेको छ । 

सफ्टवेरिका कलेज आइटी एण्ड ई–कमर्सले कोभेन्ट्री युनिभर्सिटी, युकेबाट सम्बन्धन लिएर कम्प्युटिङ विषय सञ्चालन गरिरहेको छ । यस्तै, लण्डन मेट्रोपोलिटन युनिभर्सिटी युके, क्याम्ब्रिज युनिभर्सटी युकेबाट सम्बन्धन लिएर इन्फर्मेटिक्स कलेज पोखराले कम्प्युटिङ कोर्स चलाइरहेको छ । 

युनिभर्सिटी अफ त वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्रोपोलिटन युनिभर्सिटीसँग सहकार्य गरेर द ब्रिटिस कलेजले यो  विषय सञ्चालन गरिरहेको छ ।  

ब्याचलर्स अफ इन्फर्मेसन टेक्नोलोजी

नेपालमा यो कोर्स अध्यापन गराउने विभिन्न कलेज छन् । तिनको सूची यसप्रकार छ  
 
पद्मश्री इन्टरनेसनल कलेज– निलाई युनिभर्सिटी, मलेसियाबाट  सम्बन्धन प्राप्त यस कलेजले सञ्चालन गरिरहेको यो तीन वर्षे कोर्स हो ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन– एसिया प्यासिफिक युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर यो कलेजले ब्याचलर्स अफ इन्फर्मेसन टेक्नोलोजी सञ्चालन गरिरहेको छ । तीन वर्षे यो कोर्स गर्न आठ लाख ७४ हजार रुपैयाँ शुल्क लाग्छ । तर, यही कोर्समा नेटवर्क कम्प्युटिङ र क्लाउड कम्प्युटिङमा स्पेसलाइजेसन (विशेषज्ञता) हासिल गर्न परे नौ लाख ८० हजार शुल्क लाग्छ । 

ब्याचलर्स अफ कम्प्युटर साइन्स (अनर्स)

यो कोर्स अध्यापन गराउने कलेजहरू यसप्रकार रहेका छन्  

हेराल्ड कलेज– वल्भरह्याम्प्टन युनिभर्सिटी, युकेबाट सम्बन्धन लिएर हेराल्ड कलेजले यो कोर्स सञ्चालन गरिरहेको छ । 

पाटन कलेज फर प्रोफेसनल स्टडिज– बेडफोर्डसायर युनिभर्सिटी, युकेबाट सम्बन्धन लिएर पाटन कलेज फर प्रोफेसनल स्टडिजले बिएससी (अनर्स) इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ (तीन वर्षे) अध्यापन गराइरहेको छ ।
 
द ब्रिटिस कलेज– यस कलेजले युनिभर्सिटी अफ त वेस्ट इंग्ल्यान्ड, लिड्स मेट्रोपोलिटन युनिभर्सिटीसँग सहकार्य गरेर ब्याचलर अफ कम्प्युटर साइन्स (अनर्स) सञ्चालन गरिरहेको छ । यीबाहेक अन्य विदेशी डिग्रीहरू निम्न कलेजले सञ्चालन गरिरहेका छन् ।

किङ्स कलेजले वेस्टक्लिफ युनिभर्सिटी बिएसआइटी डेटा साइन्स, बिएसआइटी सफ्टवेयर एण्ड वेब एप्लिकेसन डेभलपमेन्ट र बिएसआइटी मोबाइल एप डेभलपमेन्टको कार्यक्रम ल्याएको छ ।

एसिया ई विश्वविद्यालयबाट सम्बन्धन लिएर भिन्ची कलेजले बिआइसिटी कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै, सनवे कलेजले इन्फ्रास्ट्रक्चकर युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर बिएससी (अनर्स) कम्प्युटर एण्ड डेटा साइन्स पढाइरहेको छ । 

इस्लिङटन कलेज, काठमाडौंले लण्डन मेट्रोपोलिटन युनिभर्सिटी युके, क्याम्ब्रिज युनिभर्सटी युकेबाट सम्बन्धन लिएर बिएससी (अन्स) इन मल्टिमिडिया टेक्नोलोजी, बिएससी (अन्स) मोबाइल एप्लिकेसन डेभलपमेन्ट र बिएससी (अन्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स सञ्चालन गरिरहेको छ ।

  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १८:२८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया