logo-img

म्याद गुर्जिएका सामान बेच्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई १ लाख जरिवाना

पोखरामा  बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख जरिवाना गराइएको छ ।

जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । 

म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमन समितिले मीनबहादुर शेरचन स्टोर्सलाई सो रकम जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए । 



उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार ९ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ ।

यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ ढकालले बताए । 

त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्सले म्याज गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापडलगायतका सामग्री नष्ट गरी सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ ।  



त्यसैगरी सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । सो पसललाई ५ हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । 



समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको थियो । रासस  

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार ७:१३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया