शुक्लाफाँटामा हात्ती अभाव, नियमित गस्ती गर्न समस्या
फाइल तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव हुँदा नियमित गस्तीमा समस्या भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्ती नहुँदा नियमित गस्ती गर्न समस्या हुने गरेको सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।  

‘दरबन्दीअनुसार पूर्ण हात्ती आवश्यक पर्छ, बर्खामा हात्तीकै भरमा गस्ती हुन्छ’, उनले भने, ‘बर्खामा झाडी, तालतलैया तथा बाटो बिग्रिने भएकाले निकुञ्जको सबै ठाउँमा हिँडेर जान सकिँदैन, त्यसबेला हात्तीकै प्रयोग हुन्छ ।’

उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दशवटा हात्तीको दरबन्दी छ । अहिलेसम्म दरबन्दीअनुसार पूर्ण हात्ती निकुञ्जले पाउन सकेको छैन । भएकै हात्ती पनि अशक्त र छावा भएपछि निकुञ्जभित्रको नियमित गस्तीमा समस्या उत्पन्न हुने गरेको छ । 

हाल यहाँ दुई छावासहित चार भाले र चार पोथी गरेर आठवटा हात्तीमात्रै छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले ५/६ महिनाअघि (श्रुतिकली) छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन राष्ट्रिय किुञ्जबाट नारायणीकली नामक हात्तीसँगै छावा संसचन्दगढलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा ल्याइएको थियो ।

संसचन्दगढसँगै नारायणप्रसाद, लवप्रसाद र सिद्धप्रसाद यहाँका भाले हात्ती हुन् । ‘रूपकली बुढो भइसक्यो, दुई छावा र तिनको माउलाई गस्तीमा लगिँदैन’, संरक्षण अधिकृत ऐरले भने, ‘२०–२२ वर्षका तीनवटा हात्तीलाई गस्तीमा लैजान्छौं, बर्खामा निकुञ्जको सबै क्षेत्रमा पुग्न गाह्रो हुन्छ ।’

निकुञ्जभित्र पिपरैया पोष्टमा पाँच, शुक्लाफाँटा पोष्टमा दुई र मालुमेला पोष्टमा एक हात्ती छ । वन्यजन्तुको उद्धारमा समेत प्रयोग गरिने हात्ती निकुञ्जको पूर्वी क्षेत्र अर्जुनी, बेलडाँडीलगायत ठाउँमा पनि थप गर्नुपर्ने देखिएको संरक्षण अधिकृत ऐरले बताए ।  



‘निकुञ्जमा हात्ती जति धेरै भयो, त्यति राम्रो हुन्छ, निकुञ्जको पूर्वी सेक्टरमा हात्तीसार राख्नुपर्ने देखिन्छ’, उनले भने, ‘वन्जजन्तुको गणना तथा उद्धारमा हात्तीले निकै सघाउ पुर्याउँछ ।’

निकुञ्जभित्र जङ्गल गस्ती, वन्यजन्तु उद्धार, गणना, वैज्ञानिक अनुसन्धान, चोरी सिकारी नियन्त्रणमा हात्ती प्रयोग गरिँदै आएको छ । हात्तीलाई घुमाउनेदेखि स्याहार गर्न प्रत्येक हात्तीमा माउत, फणित र पछुवा गरेर तीन जना खटिने गरेका छन् ।



हाल यहाँ हात्तीलाई गस्ती लैजानेदेखि स्याहार गर्ने माउत, फणित र पछुवाको संख्या २४ जना छ । निकुञ्जभित्र पर्यटकलाई आकर्षण गर्नका लागि हात्ती सफारी सञ्चालन गर्न सकिन्छ । तर दरबन्दीअनुसार पूर्ण हात्ती नहुँदा र भएकै पनि अशक्त हुनाले सफारी हाललाई बन्द गरिएको निकुञ्जले जनाएको छ ।

बाह्रसिङ्गाको लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको छ । निकुञ्जको अधिकतम भाग सालको जङ्गलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जङ्गल र घाँसेमैदान छ । 

जङ्गली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिङ्गा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानीताल तथा अन्य स–साना तालमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाइँ सरी आउने गरी ४ सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । रासस

  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १३:६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया