स्वास्थ्य क्षेत्रकाे बेहाल : बारम्बार निसानामा अस्पताल

पछिल्लो समय डाक्टरमाथि आक्रमणका घटना बढ्दै गइरहेका छन् । एकपछि अर्को डाक्टरमाथि आक्रमणका घटना बाहिरिइरहँदा सम्पूर्ण चिकित्साक्षेत्र नै त्रसित भएको छ । 

पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु भएपछि लापरबाही भएको भन्दै चिकित्सकमाथि हातपातका घटना तीव्र रूपमा बढेको छ । पछिल्लो एक हप्तामा मात्रै मुलुकका विभिन्न पाँच स्थानमा चिकित्सकमाथि दुर्व्यवहारका घटना भएका छन् । योसँगै देशभरका चिकित्सक सुरक्षाको माग गर्दै सेवा नै ठप्प पार्दै आन्दोलनमा होमिएका छन् । यसको प्रत्यक्ष मारमा भने बिरामी परिरहेका छन् । 

गत सोमबार बिहान लमजुङ नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुरालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल, पोखरा ल्याइएको थियो । ​श्वासप्रश्वास र डाढ दुख्ने भएर अप्ठ्यारो भएपछि आफन्तले दुरालाई मणिपालमा ल्याएका थिए । उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर निधन भयो । ​दिनभरि बिरामीलाई डुलाइएको, के भएको हो भन्ने नखुलाइएको र अघिल्लो दिनसम्म ठिकठाक भएको बिरामीको एक्कासि ज्यान गएको भन्दै आफन्त र आक्रोशित भीड अस्पतालमा जम्मा भयो ।

अस्पतालमा होहल्ला भएपछि डाक्टरले अन्य बिरामीलाई पनि असर पर्ने भन्दै हल्ला नगरिदिन आग्रह गरिरहेका थिए । प्रत्यक्षदर्शी डाक्टरका अनुसार उनीमाथि कन्चटमा पछाडिबाट प्रहार भइहाल्यो र चस्मा नै भुइँमा खस्यो । त्यसपछि मणिपालमा झन् तनावपूर्ण अवस्था बढ्दै गएको छ । अस्पतालमा तनावपूर्ण वातावरण सिर्जना भएपछि प्रहरी परिचालन गरिएको थियो । डाक्टरमाथि भएको हातपातको विरोधमा तथा अरू डाक्टरमाथि पनि हातपात हुनसक्ने डरले डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ठप्प पारी प्रहरी घेरामा बसेका थिए ।
 
मंगलबार अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै डाक्टरमाथिको आक्रमणले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकको मनोबलमा आघात पुगेको जनाएको छ । उक्त विज्ञप्तिमा भनिएको छ, ‘मृतक दुराको उपचारका लागि डाक्टर र अस्प्तालले लिनुपर्ने अनुमति कबुलियतनामा लिएको थियो । निजलाई उपचारको क्रममा कुनै शल्यक्रिया वा भेन्टिलेटरमा राखे र सघन उपचार कक्षमा राखी उपचार गर्ने लिखित रूपमा निजका आफन्त, अभिभावकसँग अनुमति र स्वीकृति लिएर नै उपचार गरिएको हो । उपचारका क्रममा कुनै कमजोरी वा त्रुटि अस्पताल वा डाक्टरलगायत संलग्न कुनै व्यक्ति वा पक्षबाट भएको छैन ।’

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग राख्दै मंगलबारदेखि अस्पतालको आकस्मिकबाहेक अरू सेवा बन्द गर्दै चिकित्सक आन्दोलनमा उत्रिएका छन् । हालै हेटौँडास्थित सन्चो अस्पतालले लापरबाही गरेको भन्दै दुई चिकित्सकमाथि अस्पतालभित्रै कुटपिट भएको घटना सार्वजनिक भएको थियो । चिकित्सकमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा गृहमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराएको थियो ।

दोषीलाई कारबाहीको माग गर्दै ७२ घण्टे अल्टिमेटम दिए तापनि ‘नेपाल सरकारले दोषीलाई कारबाहीको दायरामा नल्याएका’ले यस्तो कदम चाल्न आफू बाध्य भएको संघले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएको थियो । 



संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको माग पनि गरेको थियो । 

चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सक आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताललगायत स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेका हुन् । 



स्वास्थ्यकर्मीमाथि शृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सक सडकमा उत्रिएर विरोध जनाएका हुन् । स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् ।

‘आन्दोलित चिकित्सकले ‘विदेश पलायन हुन बाध्य नपार,’ ‘हामी स्वास्थ्यकर्मी एक हौँ,’ ‘आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?’ ‘असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?,’ ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ,’ ‘स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरिरहेका छन् ।

बारम्बार आक्रमणका घटनाले घट्दै मनोबल 

चिकित्सकमाथि आक्रमण घटना नेपालका अस्पतालमा पहिलेदेखि हुँदै आएका छन् । तर, पछिल्लो समय भने यस्ता घटना झन् धेरै बढ्दै गएको सरोकारवाला निकाय बताउँछन् ।  यस्तै, चिकित्सकमाथि हुने कुटपिटको घटना बारम्बारजसो दोहोरिरहँदा आफूहरूलाई काम गर्न कठिन हुने, आत्मबल घट्ने र त्यसले बिरामीलाई नै असर गर्ने चिकित्सकले जनाइरहेका छन् ।  

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अन्जनीकुमार झाले उपचारमा खटिएको चिकित्सकलाई पिट्नु भत्सर्नायोग्य कार्य भएको बताएका छन् । उनले बिरामीका आफन्तलाई डाक्टरमाथि हातपात गर्नुभन्दा पनि कानुनी बाटो लिन सुझाएका छन् ।    

यससँगै नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले सरकारले चिकित्सकलाई सुरक्षाको प्रत्याभूति गराउन नसक्दा डाक्टरमाथि आक्रमण भइरहेको बताउँछन् । यसका साथै उनले पछिल्लो समय कानुन फितलो भएका कारण जसले जहाँ पनि जसलाई जे गरे पनि हुन्छ भन्ने मान्यता कायम हुँदै गएका कारण चिकित्सकहरू असुरक्षित भइरहेको उनीहरूको गुनासो छ । 

‘बारम्बार चिकित्सकमाथि आक्रमण हुनु एकदमै दुःखदायी घटना हो । यसरी बारम्बार आक्रमण हुनुमा धेरै कारण छन् । जसमध्ये एउटा कारण, सरकारले चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिन नसक्नु हो,’ डा. तिवारीले भने, ‘अर्को कुरा भनेको सरकाले जनतालाई बुझाउन नसक्नु हो । सरकारले उपचारको क्रममा तलमाथि भएको शंका लागेपछि कसरी चिकित्सकविरुद्ध उजुरी गर्ने, कहाँ जाने, कसरी न्याय पाइन्छ भनेर जनतालाई बुझाउन सक्नुपर्छ ।’ 
 
उनका अनुसार रातदिन नभनी बिरामीको सेवामा खटिने चिकित्सकमाथि आक्रमण हुन्छ भने त्यसले राम्रो सेवा दिन सक्दैन । डर, त्रासको बीचमा सेवा दिइरहँदा चिकित्सकको मनोबल घटछ । ‘कुन बिरामीको आफन्तले मलाई कुन बेला आएर कुट्छन् भन्ने मनमा डर लिएर हिँड्ने चिकित्सकको अवस्था कस्तो होला ? दिनप्रति दिन डराई–डराई हिड्नुपरेको अवस्थामा बिरामीको सेवा गर्ने मनस्थिति नै सिर्जना हुँदैन,’ उनले भने । 

यस्तै, खुलेआम एक जनप्रतिनिधिले चिकित्सकमाथि हातपात गर्छन् । देशको सेवामा खटिएको प्रहरीले खुलेआम चिकित्सकलाई कुटेर आएको अभिव्यक्ति दिँदा जनमानसमा नकारात्मक सन्देश गएको भन्दै उनले सरकारले गम्भीर भएर चिकित्सकको सुरक्षाको बारेमा सोच्नुपर्ने अवस्था आएको बताए । 

बारम्बारको डाक्टरमाथि भइरहने आक्रमणविरुद्ध चिकित्सक सडकमै उत्रिएपछि मंगलबार गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल तथा अन्य स्थानमा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालय जनाएको छ । मणिपाल अस्पतालका चिकित्सकमाथिकाे आक्रमणमा संलग्नहरूलाई​ प्रहरीले मंगलबार पक्राउ गरिसकेकाे छ । 

  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १८:२८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया