logo-img

माल्दिभ्सविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सोमपालले दोस्रो बलमै दिलाए सफलता
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चीनमा जारी एसियन गेम्समा क्रिकेट प्रतिस्पर्धामा नेपालले दिएको २ सय १३ रनको लक्ष्य पछ्याइरहेको माल्दिभ्सले पहिलो ओभरमै विकेट गुमाएको छ । उसले दोस्रो बलमै विकेट गुमाएको हो । 

माल्दिभ्सको पहिलो विकेट तीव्र गतिका बलर सोमपाल कामीले लिए । उनले अजिन रफीगलाई शून्यमै बोल्ड गरे । त्यसअघि झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । 

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले आज पनि उत्कृष्ट ब्याटिङ गरे । २७ बलको सामना गरेका रोहितले ५२ रनको इनिङ खेले । यस्तै, कुशलले २० बलमा  अविजित ४७ रन बनाए । 



कुशल भुर्तेल, गुल्सन झाले ३५/३५, विनोद भण्डारीले १३, दीपेन्द्र सिंह ऐरी, आसिफ शेखले ६/६ र सन्दीप जोराले ५ रन बनाए । माल्दिभ्सका लागि नाजवान इस्माइलले सर्वाधिक तीन विकेट लिए ।  

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएर विकेटकिपर विनोद भण्डारीलाई मौका दिएको हो ।  

नेपाल लगातार दोस्रो जित निकाल्दै सहजै क्वाटरफाइनलको यात्रा गर्न चाहन्छ । समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७४ रनको कीर्तिमानी जित निकालेको थियो । समूह ‘ए’ मा रहेको नेपाल माल्दिभ्सविरुद्ध पनि कीर्तिमानी जित हात पार्ने दाउमा छ ।  माल्दिभ्सविरुद्धको जितपछि नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामध्ये एक टिमसँग खेल्ने मौका पाउनेछ । 



क्वाटरफाइनल खेल मंगलबारदेखि सुरु हुनेछन् । यस्तै, सेमिफाइनल ६ अक्टोबर तथा फाइनल खेल ७ अक्टोबरमा हुनेछ । हालसम्म नेपालले सेमिफाइनलसमेत पुग्न सकेको छैन । तर, यसपटक भने उच्च लयमा रहेको नेपालले पदक जित्ने लक्ष्य लिएको छ ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहरा । 



  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार ८:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया