भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम सरकारले गर्ने
तस्बिर : नरेन्द्र उपाध्यायबाट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भूकम्पमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले अहिले उद्धार कार्य चलिरहेको र घाइतेहरूको उपचार निःशुल्क हुने बताए । 

‘केही घाइतेहरूलाई धनगढी ल्याइ सकिएको छ । सबै घाइतेहरूको निःशुल्क उपचार गर्ने भनेका छौँ,’ मुख्यमन्त्री शाहले फरकधारसँग भने,  ‘अहिले घाइतेहरूको औषधी उपचार र उद्धार नै ठूलो कुरा हो । त्यसका लागि विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।’  

उनले तत्काल चाहिने सामाग्री जिल्लाबाट पनि व्यवस्थापनको काम भइरहेको र प्रदेश राजधानी धनगढीबाट पनि खाद्यान्नसहितको टोली पठाउन लागिएको बताए । बस्न नहुने घरका बासिन्दालाई अस्थायी टहरामा राख्ने, त्रिपाल, खाद्यान्नलगायत वितरणको लागि पनि आफूले निर्देशन गरिसकेको मुख्यमन्त्री शाहले बताए । 

बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उद्धार, उपचार तथा राहातको बारेमा छलफल पनि गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहतसामग्री एकद्वार प्रणालीमा वितरण गर्ने निष्कर्ष निकालिएको हो । 

बझाङमा भूकम्पबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमती धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मंगलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । 

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुईजना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरूको विवरण सङ्कलन र उद्धार चलिरहेको प्रहरीले जनाएको छ । 



प्रहरीका अनुसार भूकम्पबाट बझाङमा १ सय ३५ संरचनामा क्षति पुगेको बताइएको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

बझाङ सदरमुकाम चैनपुरआसपास केन्द्रविन्दु बनाएर दिउँसो ०३ बजेर ०६ मिनेटमा भूकम्प ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि मंगलबार नै दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि निरन्तर पराकम्प गएकोले गयराति स्थानीयहरू घरबाहिर सुतेका थिए ।  



  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार १२:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया