एमालेले भन्यो- शिक्षकसँगको सम्झौता विधेयकमा समावेश नगरी विधेयक प्रस्तुत गर्नु गलत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका सांसदले सरकारले शिक्षकसँग गरेको सम्झौता संसदलाई जानकारी नदिइ विधेयक प्रस्तुत गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा विधेयकमाथि छलफलमा भाग लिँदै एमाले सांसदहरूले सरकारले विद्यालय शिक्षा विधेयकको विषयमा गरेको सम्झौता नचिन्ने टिप्पणी गरेका हुन् । उनीहरूले सरकारले शिक्षकसँग विभिन्न सम्झौता गर्ने र विधेयकमा समावेश नगरी संसदमा विधेयक पेस गरेर सरकारले संसदलाई हेप्न खाेजेको आरोप लगाए । 

एमाले सांसदले विधेयक संसदले आफ्नो विवेकले बनाउन पाउनुपर्ने बताए । उनीहरूले विद्यालय शिक्षा विधेयकलाई सरकारले संविधानको भावनाभन्दा विपरीत सम्झौताहरू गर्दै विधेयक बनाउन लागेको आरोप लगाए । एमाले सांसद विद्या भट्टराईले विद्यालय शिक्षा भनेर संघीय सरकारले ऐन संसदमा पेस गरेको विधेयक गलत ट्रयाकबाट प्रस्तुत भएको बताइन् ।

उनले संघीय शिक्षा कस्तो हुनुपर्ने भनेर २०२८ सालपछि अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेगरी आजको शिक्षा कस्तो हो भन्ने स्पष्ट धारणा दिन नसकेको बताइन् । सांसद भट्टराईले विधेयकको विषयमा धेरै छलफल र बहस गर्न बाँकी रहेको भन्दै सरोकारवालासँग कुनै छलफल नगरी यो विधेयक ल्याउनु गलत भएको बताइन् । 

‘विद्यालय शिक्षा भनेर संघीय सरकारले ऐन संसदमा पेस गरेको छ । यसमा हामीले अवधारणागत हिसाबले गलत ट्रयाकमा छौँ । संघीय शिक्षा कस्तो हुनुपर्ने भनेर २०२८ सालपछि अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दैछौँ भने आजको शिक्षा कस्तो हो भन्ने स्पष्ट धारणा यो ऐनले दिनुपर्ने हो त्यसमा अस्पष्टता छ । विधेयकको विषयमा धेरै छलफल र बहस गर्न बाँकी छ,’ सांसद भट्टराईले भनिन्, ‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी यो विधेयक ल्याइएको छ । विधेयकमा धेरै अस्पष्टता र कमीकमजोरी छन् भन्ने कुरा सरकारले स्वीकार गर्नुपर्छ । शिक्षाले वर्ग निर्माण गरेको छ ।’ 



उनले विधेयकमा धेरै अस्पष्टता र कमीकमजोरी भएको सरकारले स्वीकार गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरिन् । सांसद भट्टराईले शिक्षाले वर्ग निर्माण गरेको भए पनि सांसदमा पेस भएको ऐनले वर्ग निर्माण गरेको कुरालाई स्वीकार गरेर वर्ग समन्वय र सामाजिक एकता कायम गर्ने विषयमा ऐन बोल्न नसकेको बताए ।



उनले अहिलेको शिक्षालाई कसरी अगाडि बढाउने भन्ने कन्फ्युज जन्माएको बताइन् । सांसद भट्टराईले मौलिक हकको कार्यान्वयन शिक्षा विधेयकको मुल उद्देश्य हुनुपर्ने भए पनि त्यस्तो नभएको बताए । उनले सरकारले शिक्षकहरूसँग गरेको सम्झौताका विषयमा संसदलाई जानकारी नदिइ संसदलाई सबै जिम्मेवारी दिएर आफू उम्कने प्रयत्न गरेको आरोप लगाइन् ।

‘मौलिक हकको कार्यान्वयन शिक्षा विधेयकको मुल उद्देश्य हुनुपर्ने त्यो भएको छैन । सरकारले शिक्षकहरूसँग गरेको सम्झौताका विषयमा संसदलाई जानकारीमा छैन । सरकारले संसदलाई सबै जिम्मेवारी दिएर आफू उम्कने प्रयत्न गरेको छ,’ सांसद भट्टराईले भनिन्, ‘गलत ढङ्गले ऐन निर्माणको प्रक्रियामा गयौँ भने सरकार जिम्मेवार बन्न सक्दैन । शिक्षकको सेवा सुरक्षाका विषयमा अपाङ्गता भएका र विशेष शिक्षा प्रदान गरिरहेका शिक्षकहरूका लागि आज पनि सरकार गम्भीर हुन सकेको छैन ।’

त्यस्तै, एमालेकै सांसद रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक सबै प्रक्रिया पूरा नगरी ल्याएको आरोप लगाए । उनले सरकारले शिक्षकसँग गरेको सम्झौता संसद मान्न बाध्य नहुने बताए । उनले संसदमा विधेयक प्रस्तुत र दर्ता गर्ने तर विधेयक संसदको भावनाविरुद्ध बाहिर आन्दोलन भयो भनेर संसदमा विधेयक पेस गर्नु अघि सरकारले शिक्षकसँग सम्झौता गर्दै हिँड्नु उपयुक्त नभएको बताए । 

‘सरकारले कुनै विधेयक ल्याउँदा सरकारले राम्रोसँग होमर्क गरी विधेयकमा आवश्यक सबै प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ । संसदमा विधेयक प्रस्तुत र दर्ता गर्ने अनि विधेयक र संसदको भावनाविरुद्ध बाहिर आन्दोलन भयो भनेर त्यो विधेयकमा हाल्ने भनेर बाहिर सम्झौता गर्दै हिँड्नु उपयुक्त होइन । त्यो सम्झौता गर्ने हो भने भए विधेयक पेस गर्नुअघि नै सम्झौताका बुँदाहरूलाई विधेयकमा सामेल गरेर संसदमा प्रस्तुत गर्नुपर्छ,’ पन्तले भने, ‘यो त सरकारले संसद्लाई अप्ठ्यारो पार्ने काम गर्‍यो । अब शिक्षकहरूसँग र राहतवाला शिक्षकहरूसँग सरकारले गरेको सम्झौता यो विधेयकमा कसरी कर्पोरेट हुन्छ ? सरकारले त्यहाँ सम्झौता गर्‍यो ।’  

उनले विधेयक पेस गर्नुअघि नै सम्झौताका बुँदाहरूलाई विधेयकमा सामेल गरेर संसदमा प्रस्तुत गर्नुपर्ने भए पनि सरकारले त्यस्तो गर्न नसकेको बताए । उनले शिक्षकसँग र राहतवाला शिक्षकसँग सरकारले गरेको सम्झौता यो विधेयकमा कसरी कर्पोरेट हुन्छ भन्दै प्रश्न गरे । पन्तले संसदले विधेयक आफ्नो विवेक र दृष्टिकोणको आधारमा बनाउनुपर्ने उल्लेख गरे ।  

‘सरकारले गरेको सम्झौता संसदले मान्न तयार छ ? बाध्य छैन । संसदले विधेयक आफ्नो विवेकले बनाउँछ । आफ्नो दृष्टिकोणको आधारमा विधेयक बनाउँछ । तर सरकारले त्यो विधेयकमा प्रस्तुत गरेका र संविधानको भावनाभन्दा विपरीत सम्झौताहरू गर्दै हिँडेपछि विधेयक बनाउन गाह्रो होला,’ पन्तले भने, ‘धेरै लामो समयपछि विद्यालय शिक्षालाई सम्बोधन गर्ने विधेयक आएको छ । विधेयक पूर्णाङ्क भएर आएन । पूर्ण तयारीका साथ आएन । विधेयक प्रस्तुत गर्दा अनेकौं सम्झौताहरू गर्दै सरकार गएको छ । विधेयक संसदमा प्रस्तुत गर्ने उल्टो तरिका भयो । अबदेखि सरकारले यस्तो नगरोस् । वास्तवमा संसदले विधेयकलाई फिर्ता गर्नुपर्ने हो ।’  

उनले धेरै लामो समयपछि विद्यालय शिक्षालाई सम्बोधन गर्ने विधेयक आए पनि पूर्ण तयारीका साथ नआएको बताए । सांसद पन्तले प्रक्रिया पूरा नगरी संसदमा पेस भएको विधेयक संसदले फिर्ता गर्न सक्नुपर्ने बताए । उनले राष्ट्रको लागि विद्यालय शिक्षा विधेयक अत्यन्त महत्वपूर्ण रहेको पनि उल्लेख गरे । 

  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार १६:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया