पूर्वमहान्यायाधिवक्ता श्रेष्ठको आरोप : राज्यका तीनवटै अंगले संविधान मिचे
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठले सरकारको तीनवटै अंगबाट संविधान मिचिएको बताएका छन् । शुक्रबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानुन व्यवसायी मञ्चको भुमिका विषयक अन्तरक्रियामा उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरेका हुन् ।

उनले संविधानभित्र भएका छिद्रहरूलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताए । पूर्व राष्ट्रपतिले त सार्वजनिकरूपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै श्रेष्ठले सभामुखले समेत संविधानविपरीतका कानुन बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरूले नै संविधान मिचेको उल्लेख गरे ।   

‘संविधानभित्र भएका छिद्रहरूलाई दुरुपयोग गरेर संविधान मिच्न थाले । देखिराख्नु भएको छ अहिलेको राष्ट्रपतिको बारेमा । हिजोको राष्ट्रपतिको बारेमा देख्नुभयो । रामवरणजीले त भाषण नै गर्नुभयो । म राष्ट्रपति भएको बेलामा एउटा इस्युमा त मैले संविधान मिचेकै हो । अब त्यस्तो राष्ट्रपति काम लाग्छ ? विद्यादेवी दुई–दुईचोटी राष्ट्रपति बन्नुभयो । रातारात सबै कुरो भयो । अब बिहानै हुन्न भनेजस्तो काम, कुरो गर्नुभयो । सभामुख देखिराख्नुभएको छ,’ श्रेष्ठले भने, ‘संविधानविपरीतका कानुन खुरुखुरु बन्दा पनि पास भइराखेको छ । न्यायालयले पनि संविधान मिचेको छ । अब संविधान रहन्छ कि रहन्न भन्ने प्रश्न उठिसक्यो । ०४७ सालको संविधान कांग्रेस र राजाले नमान्दा गएको थियो, ०७२ सालमा क–कसले बनाएको थियो तपाईँहरूलाई थाहा छँदैछ । उहीँउहीँ समूहले संविधान मिचिराखेको छ ।’    

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लिलामणि पौडेलले कानुन व्यवसायी स्वतन्त्र हुन नसकेका बताए । उनले कानुन व्यवसायी राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनु परेको बताए ।

उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरू कानुनी प्रबन्धअनुसार नै भएका बताए । पौडेलले कानुनी प्रबन्धअनुसार न्यायाधीश नियुक्त भएको भए पनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार २१:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया