भुँडीपुराणले पाठकमाझ ल्यायो ‘कुरैकुराको खेती’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लेखक शिव सस्मितको हास्यव्यंग्य निबन्धसंग्रह ‘कुरैकुराको खेती’ लोकार्पण गरिएको छ । विश्व नेपाली साहित्य महासंघ, गण्डकी प्रदेश समितिद्वारा आयोजित ‘भर्चुअल’ कार्यक्रममा लेखक स्वयंले कृतिको लोकार्पण गरेका हुन् । 

भुँडीपुराण प्रकाशनले पाठकमाझ ल्याएको उक्त कृतिमा १३ वटा निबन्ध संगृहीत छन् । समीक्षक रामप्रसाद सुवेदीले लेखक सस्मितबाट नेपाली हास्यव्यंग्य साहित्यले गहकिलो पुस्तक पाएको धारणा राखे । ‘हास्यगुणले ओतप्रोत छोटा र चोटिला निबन्ध यस पुस्तकमा छन्, पढ्दा कुनै पट्यार लाग्दैन,’ उनले भने, ‘नेपाली समाजका विकृति र विसंगतिप्रति सजीव ढंगले कटाक्ष गरिएको छ । निबन्धमा प्रयुक्त भाषा र शैली पनि मौलिक छ ।’

आत्मपरक शैलीमा लेखिएको उक्त निबन्धसंग्रह उतारता, तार्किकता, संक्षिप्तताजस्ता गुणले युक्त रहेको समीक्षक सुवेदीले बताए । ‘काव्यात्मक शैलीले निबन्धलाई पठनीय बनाएको छ, कतै वर्णनात्मक त कतै व्याख्यात्मक शैलीलाई पनि लेखकले पछ्याएको पाइन्छ,’ उनले भने । 

प्रा.डा. षडानन्द पौडेलले हास्यव्यंग्य साहित्य लेखनका क्षेत्रमा धवलागिरि क्षेत्र पछाडि परिरहेका बेला म्याग्दीका लेखक सस्मितको स्तरीय निबन्ध कृति पाठकमाझ आएको बताए । पुस्तकले हास्यव्यंग्यमार्फत समाजका विविध विषय र पात्रका प्रवृत्तिलाई उछिनेको उनको भनाइ छ । 

कृतिमा ‘लाइन’, ‘बेर’, ‘झोला सम्मेलन’, ‘कुरैकुराको खेती’लगायत शीर्षकमा निबन्ध संगहीहित रहेको लेखक सस्मितले जानकारी दिए । समाजमा देखेभोगेका विषय र बेथितिलाई लेखनका माध्यमबाट उजागरको प्रयास गरेको उनको भनाइ थियो । 

म्याग्दीको बेनी नगरपालिका–६ मा जन्मिएका उनको यसअघि ‘डायरीमा टाउकेहरु’ हास्यव्यंग्य निबन्धसंग्रह प्रकाशित भइसकेको छ । लेखक सस्मितको उपन्यास कृति ‘धुमिल आकाश’सहित, कविता र गजलसंग्रह पनि प्रकाशित छन् । 





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार १६:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया