नौ किलो सुन तस्करी : महरालाई उन्मुक्ति, छोरा राहुलसहित चारजनालाई प्रतिवादी बनाउन राय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नौ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ। 

विद्युतीय चुरोट (भेप)मार्फत तस्करी भएको उक्त परिमाणको सुन प्रकरणमा दोस्रोपटक अनुसन्धान गरेर सिआइबीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाएको हो।

दोस्रो अनुसन्धानमा सिआइबीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति दिएको छ । यसअघिको सिआइबीको अनुसन्धानमा  पूर्वसभामुख महरा पनि जोडिएको खुलेको थियो । सिआइबीले उनीसँग बयान पनि लिएको थियो।  

महरालाई उन्मुक्ति दिए पनि सिआइबीले उनका छोरा राहुलसहित चारजनालाई प्रतिवादी बनाउन राय दिएको छ। चारजनालाई प्रतिवादी बनाउँदै मुद्दा चलाउन राय दिइएको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । 

प्रहरीले चिनियाँ नागरिक दाओजिन वाङ र उनका सवारीचालक लोकेन्द्र पौडेल र बेल्जियम नागरिक दावा छिरिङलाई समेत मुद्दा चलाउन सिफारिस गरेको हो । 

महरापुत्र राहुल भदौ १३ मा पक्राउ परेका थिए । भेपमार्फत नौ किलो सुन तस्करी गर्ने समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक दाओजिन लगायतसँग उनको सम्पर्क देखिएको सिआइबीको अनुसन्धानले देखाएको छ। 



दावा छिरिङ यसअघि नै ६० किलो सुन प्रकरणमा पक्राउ परेका थिए। हाल उनी पुर्पक्षका लागि उनी थुनामा छन्। सो प्रकरणमा जोडिएका दिपेश बस्नेत, गोपाल सुवेदी र रामकेशव थापा भने फरार रहेका छन्।

गत पुसमा विद्युतीय चुरोटमा लुकाएर नौ किलो सुन तस्करी भएको थियो। विमानस्थल भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा सुन तस्करी भएको अनुसन्धानमा खुलेको थियो। 



विमानस्थल भन्सारका नासु रेवन्त खड्का, सुरक्षागार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। 

  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार २२:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया