logo-img

इरानविरुद्ध दीपक डुम्रेको उत्कृष्ट अर्धशतक, नेपाल ३ सय रन नजिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिसी यू–१९ प्रिमियर कपमा इरानविरुद्ध नेपाली टिमका विकेटकिपर दीपकप्रसाद डुम्रेले अर्धशतक पूरा गरेका छन् । उनले ४३ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । 

दीपकले आज ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनको उत्कृष्ट पारी खेले । उनी छक्का प्रहार धुनमा क्याच आउट भएका हुन् । 

देवको आक्रामक शतक 



कप्तान देव खनाल आक्रामक शतक बनाएर आउट भएका छन् । उनले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतमा १ सय रन बनाए । देव शतक बनाएलगत्तै छक्का हान्ने धुनमा आउट भए । 

देवले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । यस्तै, ओपनिङ ब्याटर दीपक बोहराले ५९ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ६५ रनको इनिङ खेले ।  मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २० रन नबनाउँदै दुई विकेट गुमाएको थियो ।    

यो समाचार तयार पार्दासम्म नेपालले ३१ ओभरमा ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ । नेपालले दोस्रो विकेटको रूपमा आकाश त्रिपाठीलाई गुमायो । ९ बलको सामना गरेका उनले ३ रन मात्र जोड्न सके । 



यस्तै, नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर अर्जुन कुमाललाई शून्यमै गुमाउन पुग्यो ।  समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि उचाल्ने नेपालको लक्ष्य छ ।  

प्रिमियर र एसिया कप नेपाली टिमका लागि विश्वकपको राम्रो तयारी हुनेछ । सिनियर टिमले पनि प्रिमियर कप जितेर एसिया कप खेलेका कारण यू–१९ टिममा पनि आत्मविश्वास बढेको छ । प्रिमियर कपमा नेपालले सेमिफाइनल र फाइनलमा यूएई, हङकङ, मलेसिया र कुवेतलाई प्रतिद्वन्द्वी पाउने सम्भावना छ  ।



त्यसअघि समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा इरानका साथै बहराइन र साउदी अरेबियासँग खेल्ने तालिका छ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलको यात्रा गर्नेछन् ।   

फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरी तीन टिम एसिया कप खेल्नेछन् । भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने यू–१९ एसिया कपमा सोझै छनोट भइसकेका छन् । यू–१९ विश्वकप अघि एसिया कप हुन लागेको हो ।   

विश्वकप २०२४ को जनवरीमा श्रीलंकामा हुनेछ । विश्वकपमा नेपालले समूह चरणमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानको सामना गर्नेछ ।  

  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ९:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया