पूर्वगाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले वि.सं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्दै आएका छन् । उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्थे ।

वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा धामीले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए । ​यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिए ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । वि.सं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उनलाई फेरि जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । 

‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो, पार्टीले टिकट दिएन अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालनतिर लागे,’ उनले भने । उनलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । 

काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । ‘म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु’, उनले भने, ‘काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।’ 

धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिन्छन् । उनी दसैँका लागि १ सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आएका हुन् । ‘दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ’,उनले भने, ‘मैले ल्याएको १ सय २७ च्याङ्ग्रामध्ये आफैंले पालेको ८० वटा छ । अरू गाउँलेसँग किनेर ल्याएको हुँ ।’ 



सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउने उनको योजना छ । उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजार रुपैयाँसम्म मूल्य तोकेका छन् । 

धामीले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्छन् । यो व्यापारबाट उनले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको बताए । ‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरूको सेवा पनि गरे’, उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ता उस्तै लागेको छ ।’  



अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने धामी पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा छन् । रासस 

  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १२:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया