ढोरपाटन सिकार आरक्षमा चुनौती बन्दै जग्गा अतिक्रमण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा २०७३ साल अघिसम्म चोरी सिकारी प्रमुख चुनौतीका रूपमा थियो । तत्कालिन अवस्थामा आरक्षमा योजनाबद्ध रूपमै चोरी सिकारी हुन्थ्यो ।

विसं २०७३ मा आरक्षको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएपछि चोरी सिकारी नियन्त्रणमा आयो । तर आरक्षले वर्षौदेखि अतिक्रमित जग्गा भने फिर्ता ल्याउन सकेको छैन ।

नेपाली सेना नहुँदा आरक्ष अघिबाटै हुने चोरी सिकारी नियन्त्रणमा आए पनि वर्षौदेखि भइरहेको जग्गा अतिक्रमण भने नरोकिएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङको भनाइ छ ।

जग्गा अतिक्रमण रोकिए पनि अतिक्रमित जग्गामा फिर्ता ल्याउन भने सकिएको छैन । बरु अतिक्रमित जग्गामा घर तथा टहरा बनाउने क्रम अहिले पनि जारी छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको छ ।

उक्त जग्गामा हाल ३११ घरधुरी बसोबास गरिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलको भनाइ छ ।

कँडेलले भने, ‘आरक्षको क्षेत्रभित्र पर्ने जग्गामा खेतिपाती गर्ने, बसोबास गर्ने र तारबारको काम भइरहेको छ, थप जग्गा अतिक्रमण भएको भने होइन, यो जग्गा आरक्ष स्थापना गर्नुभन्दा पहिलादेखिनै स्थानीयहरू बसोबास गर्दै आएका थिए । अहिलेको चुनौती भनेको अतिक्रमण जग्गाभित्र वन तथा खर्क क्षेत्र, बसोबास र खेतिपातिको लागि प्रयोग भइरहेको जग्गा खाली गरेर आरक्षकोभित्र ल्याउनु हो । यस कार्यक्रममा सरकार र सबै सरोकारवाला निकायहरूको ध्यान जान जरुरी छ ।’



त्यहाँ बसोबास गरिरहेका परिवारलाई स्थानान्तरण गराउन सरकारलेनै पहल गर्न अवाश्यक भएको भन्दै उनले कानूनको अभावका कारण जग्गा खाली बनाउन नसकेको बताए ।

कार्यालयले बेलाबेलामा स्थानीयलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । बाग्लुङ, म्याग्दी र पूर्वीरूकुम लगायतजिल्ला गरी कुल १ हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सिकार आरक्षमा अतिक्रमण जग्गा भोगचलनको दर भने बढ्दै गएको हो ।



सरकारले २०३९ सालमा ढोरपाटन सिकार आरक्षको स्थापना गरेको थियो । त्यसअघिनै उक्त क्षेत्रमा बसोबास गर्दै आएकाहरूको व्यवस्थापन नगरी जग्गा ओगट्न नहुने स्थानीयको माग छ ।

बाग्लुङको अधिकारीचौर, बोबाङ, निसी र बोङ्गादोभान, रूकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा, कोल र काक्री तथा म्याग्दीको लुलाङखोरिया र गुर्जाखानी लगायतका ३४ स्थानमा अतिक्रमण भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

केही घर आरक्ष स्थापना हुनुभन्दा अगावै रहेका कारण सरकारले लालपुर्जा दिलाउनुपर्ने या बस्ती स्थानान्तरण गर्नुपर्ने माग हुँदै आएको छ । तत्कालीन समयमा आरक्ष कार्यालय विस्थापित भई जिल्ला सदरमुकाम बाग्लुङ बजारमा सरेपछि स्थानीयले आरक्षको जग्गामा तारबार गरी खेती लगाउन सुरु गरेका थिए ।

बाग्लुङ, पूर्वीरूकुम तथा म्याग्दी गरी तीन जिल्ला समेटिएको आरक्षभित्रका सात ब्लकमध्ये आरक्ष कार्यालय ढोरपाटन, देउराली तथा निसेलढोरमा र गुर्जाघाटमा मात्रै सुरक्षा तैनाथ गरिएको छ ।

क्रमश सबै ब्लकमा सुरक्षा पोष्ट पुर्याउने गरी गुल्मलाई गणको रूपमा लैजाने आरक्षको योजना छ । सिकार आरक्ष कार्यालय रहेको ढोरपाटन क्षेत्रमा आरक्ष स्थापना हुनुअगावैदेखि स्थानीय बसोवास गर्दै आएकाले सरकारले नै उनीहरूलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने ढोरपाटन नगरपालिका-९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले बताए ।

उनले भने, ‘केही स्थानीयले आरक्षपछि जग्गा भोगचलन गर्दै आएका होलान्, तर केही स्थानीयहरूले आरक्ष स्थापना हुनु अगावैदेखि भोगचलन भइरहेकाले भूमि आयोगमार्फत यसलाई टुंग्याउन आवश्यक छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गा आरक्षले फिर्ता गर्न त्यहाँका स्थानीयलाई अर्को व्यवस्था मिलाउन आवश्यक छ ।’

लालपूर्जा नभए पनि उनीहरूले वर्षोदेखि भोगचलन गर्दै आएको जग्गाबाट हटाउनका लागि आयोगमार्फत अन्यत्र जग्गा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।

  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार १४:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया