नेपालमा अहिले बडादसैँको माहौल छ । दसैँ भनेको आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा–मीठा खानेकुरा खाएर मनाउने हो । दसैँमा प्रायः मासुका परिकारहरू खाइन्छ ।
मासुबिनाको दसैँ त शाकाहारीबाहेक अन्यले सोच्न पनि सक्दैनन् । तर, दसैँमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत आउन सक्ने चिकित्सक बताउँछन् ।
दसैँको समयमा धेरै मासु खाँदा पेट र कलेजोमा भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचन प्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन । जस कारण अपच भएर झाडापखाला हुनसक्छ ।
कलेजोको काम खानालाई पचाउने हो । अन्य खानेकुराभन्दा मासु पचाउन समय लाग्छ । किनकि यो प्रोटिनको मुख्य स्रोत हो । दसैँको समयमा मासु अत्यधिक मात्रामा खाँदा कलेजोले मासुलाई पचाउन सकेको हुँदैन । त्यसमाथि दसैँमा रक्सीसँगै मासु खाइरहेका हुन्छन् । जस कारण रक्सी र मासु दुवैलाई पचाउन कलेजोले जोडतोडका साथ काम गरेको हुन्छ ।
बुझ्ने भाषामा भन्नुपर्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ । यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियतलगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटु रोगको जोखिम हुन्छ ।
त्यसैले तेल, मरमसला कम राखेर कुकरमा पकाएको मासु पचाउन सजिलो हुन्छ । तर दसैँमा मासु यसरी झोल बनाएर वा नरम बनाएर भन्दा पनि पोलेर, तारेर, फ्राइ गरेर धेरै खाने चलन छ । पोलेर फ्राइ गरेर खाँदा मासु राम्रोसँग नपाकेको पनि हुन सक्छ । पोलेको मासुको भित्री भाग राम्रोसँग नपाक्न चपाउन गाह्रो हुने हुन्छ । जसले गर्दा आमाशयमा ठूलो टुक्रा मासु भएपछि पचाउन ढिलो हुन्छ ।
मासुको टुक्रा स–साना बनाएर सुपजस्तै गरी पकाएर खाएमा झनै पचाउन सजिलो हुन्छ । मासु पकाएर भन्दा उसिनेर खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । किनकि उसिनेको मासुमा बोसो कम हुने र तेल, मसलासमेत कम हुने हुँदा शरीरलाई बेफाइदा गर्दैन । त्यस्तै मासुका साथै फाइबरयुक्त खानेकुरा पनि मिलाएर खाएमा लाभदायक हुन्छ ।
(फरकधारकर्मी सिंहले ग्याष्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यपसँग गरेको कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।