डब्ल्युएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रीय निर्देशक पदको निर्वाचन आज, आचार्य र हसिनाबीच प्रतिस्पर्धा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव नयाँदिल्लीमाआज हुँदै छ । मंगलबार भारतको नयाँदिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

नयाँ क्षेत्रीय निर्देशक पदमा नेपाल र बंगलादेशले प्रतिस्पर्धामा गर्दैछन् । नेपालको उम्मेदवार डब्ल्यूएचओमा कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद छिन् । 

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स, इन्डोनेसिया, उत्तर कोरिया, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य राष्ट्र रहेका छन् ।  

११ देशका स्वास्थ्य मन्त्रीहरू पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरूले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्ने गर्दछन् । तर, यसपटक म्यानमानरले सहभागिता जनाउने छैन । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाउने भएको हो । त्यसैले दक्षिण–पूर्वी एसिया १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गर्दैछन् ।

निर्देशक पदका लागि नेपाल बलियो दाबेदार हो । नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यले हेल्थ सेक्टरमा लामो अनुभव संगालेका र डब्ल्यूएचओमा लामो समयदेखि कार्यरत छन् । बंगलादेशको उम्मेदवारभन्दा नेपालको उम्मेदवार बढी अनुभवी र योग्य भए पनि उनलाई जिताउन नेपालले गरेको कमजोर कूनीतिक लबिइङले उक्त निर्वाचनमा प्रभाव पार्ने अधिकारीले धारणा छ । 

बंगलादेशकी प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले बंगलादेशले कूटनीतिक लबिइङ तीव्र पारेको छ । भारतमा हुन गइरहेको निर्देशक चयनमा भारतले नेपाललाई मत दिने वा बंगलादेशलाई स्पष्ट नपारे पनि भारत बंगलादेशको पक्षमा उभिन सक्ने आकलन भइरहेको छ । 



यसैबीच १४ जना विश्व प्रतिष्ठित स्वास्थ्य विशेषज्ञहरूले संयुक्त विज्ञप्तिमार्फत डब्ल्यूएचओको सेरो सदस्य राष्ट्रलाई क्षेत्रीय निर्देशक चयन गर्दा राजनीतिभन्दा टाढा रहन अपिल गरेका छन् ।

संस्थालाई अनुभवी, प्राविधिक ज्ञानको गहिराइ र पूर्वाग्रहविना सबैलाई समान रुपमा सेवा दिन सक्ने तटस्थ क्षेत्रीय निर्देशक चाहिने उनीहरूले धारणा राखेका छन् ।



संकीर्ण राजनीतिबाट जोगिएर सबै देशका लागि काम गर्न सक्ने सक्षम, द्विपक्षीय वाचा र राजनीतिक स्वार्थभन्दा बाहिर जान सक्ने, डब्ल्यूएचओलाई बलियो बनाउन, तटस्थता र राम्रो व्यवस्थापनको जनादेश पूरा गर्न सक्ने सक्षम व्यक्ति चयन गर्नुपर्ने विशेषज्ञहरूले माग गरेका छन् ।

उनीहरूले सक्षम नेतृत्व चयन गर्न नेपालको पक्षमा मतदान गर्न सहभागी राष्ट्रहरुलाई आव्हान गरेका छन् । संयुक्त अपिल जारी गर्नेहरुमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव तथा युनिसेफका उपकार्यकारी निर्देशक डा. कुलचन्द्र गौतम, भारतका पूर्वस्वास्थ्य सचिव सुजाथा रावलगायतका रहेका छन् । 
 

  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार ११:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया