के हो कलेजो प्रत्यारोपण ? के छ नेपालमा प्रत्यारोपणको अवस्था

मानव शरीरमा भएका विभिन्न अंगमध्ये कलेजो पनि एक हो । कलेजो मानव शरीरको पाचन प्रणालीअन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । यसको आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो । 

कलेजोका कोषिकालाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणालीअन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरू थुप्रै कार्य पनि गरिरहन्छ । 

कलेजो हाम्रो शरीरको फिल्टर हो । हामीले जे खानेकुरा खान्छौँ, त्यो हाम्रो आन्द्रामा जान्छ । आन्द्राबाट रगतको नलीले शरीरलाई आवश्यक पर्ने तत्त्व हरूलाई लिन्छ । रगतको नलीले लिएको ती तत्त्व​लाई कलेजोले फिल्टर गर्ने काम गर्छ । तत्त्वमा विकार पदार्थलाई फाल्छ, सुधार्न मिल्ने तत्त्वलाई सुधार्ने काम गर्छ । 

कलेजोले फिल्टर गरेको रगतलाई मुटुमा पुर्याउँछ र मुटुले शरीरको सम्पूर्ण भागमा पुरयाउने काम गर्छ । आममानिसको बुझाइमा मुटुले डारेक्ट रगत प्रवाह गर्छ भन्ने छ । तर, कलेजोले फिल्टर नगरेको रगत मुटुले प्रवाह गर्यो भने अनेकन स्वास्थ्य समस्या देखिन सक्छन् । त्यसैले कलेजोको एकदमै महत्त्व छ । कलेजोले फिल्टर नगरेको रगत मुटुले शरीरमा पठाउन सक्दैन । 

कलेजोले चिल्लोको पाचन, चिल्लोको अवशोषण, भिटामिन ए, डी, ई र केको अवशोषण, आन्द्राको गति कायम राख्ने, गतिशील बनाउने, आन्द्रामा कीटाणुको विकास हुनबाट रोक्नेजस्ता विभिन्न काम गर्छ । 

कतिपय अवस्थामा जन्मजात नै कलेजोमा समस्या भए त्यसको उपचार गर्नुपर्छ । गतिविधिको कुरा गर्नुपर्दा मद्यपानले कलेजोमा समस्या उत्पन्न हुन्छ । नेपालमा पछिल्लो समय मद्यपानका कारणले कलेजोमा समस्या भएर अस्पताल आउने बिरामीको संख्या बढेको छ । त्यसबाहेक भाइरल इन्फेक्सन, हेपटाइटिस बी, सीका कारणले कलेजोमा समस्या उत्पन्न भइरहेको छ । 



कलेजो एउटा यस्तो अंग हो, जसले केही हदसम्म चोट सहन्छ । तर, चोट सहँदासहँदा एउटा समय आएपछि चोट सहन सक्दैन अनि काम गर्न छोड्छ । मानिसहरूले प्रायः मैले पचाइरहेको छु भनेर निरन्तर तथा अधिकतम मद्यपान गरिरहेको पाइन्छ । तर, एक समय आएपछि कलेजोले क्रियाको प्रतिक्रिया देखाउँछ र काम गर्न छोड्छ । त्यसैले मानिसले कुन तहसम्म पुग्ने भन्ने कुरा ख्याल गर्न आवश्यक छ । कलेजो बिग्रिनुको मुख्य कारण नै मद्यपान हो । 

कलेजोमा समस्या हुन थालेपछि शरीरमा विभिन्न किसिमका समस्या देखिन्छन् । कलेजोमा समस्या भएपछि आँखामा जन्डिस देखिनेदेखि पेटमा पानी जम्ने, फुल्ने, खुट्टा सुन्निने, आलश्यताजस्ता लक्षण देखिन्छन् । 



कलेजोका बिरामी पहिले पनि हुने गर्थे । पहिलेको दाँजोमा अहिले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । स्वास्थ्यसम्बन्धी जनचेतना बढेको छ । तर, पहिलेको समयमा पनि बिरामी हुन्थे होला, हामीसँग त्यसको यकिन तथ्यांक छैन । स्वास्थ्य उपकरण पनि उपलब्ध छन् । त्यसकारण पछिल्लो समय कलेजोका बिरामी बढेको जस्तो देखिन्छ । 

पछिल्लो समय युवापुस्तामा पनि देखासिकी, साथीको लहैलहैमा लागेर मद्यपान गरेको पाइन्छ । यसले युवापुस्ताले दुःख पाइरहेको छ । मद्यपानका कारण कलेजो बिग्रिएर अस्पताल भर्ना हुने दर बढेको छ  । 

कलेजोमा समस्या भएको लक्षण देखिएपछि कलेजो कतिसम्म बिग्रिएको छ, त्यसको परीक्षण गरिन्छ । कलेजोको अवस्था हेरेर रोकथाम वा उपचार गर्न सकिन्छ कलेजोमा समस्या उत्पन्न भएपछि औषधि खाएर पनि निको पार्न सकिन्छ । औषधि खाएर निको नहुने अवस्था छ वा कलेजो अन्तिम अवस्थामा छ भने विकल्पको रूपमा कलेजो प्रत्यारोपण गरिन्छ । 

के हो कलेजो प्रत्यारोपण ? 

प्रत्यारोपण भनेको नयाँ चिज ल्याएर रोपण गर्ने हो । कलेजो प्रत्यारोपणमा बिग्रिएको पूरा कलेजो निकालेर त्यहाँ अर्को नयाँ कलेजो राखिन्छ । जो दाता छन्, तिनको कलेजाको आधा भाग ल्याएर बिरामीको कलेजोको ठाउँमा राखिन्छ ।
 
कलेजो प्रत्यारोपणको निश्चित मापदण्ड तोकिएको छ । बिरामी अवस्थाको जाँच गरिन्छ । भिडियो एक्स–रे, सिटी स्क्यान, इन्डोस्कोपी गरेर बिरामी कुन अवस्थामा छ, त्यसको निक्र्यौल गरिन्छ । पहिलो अवस्थामा खानपान बन्द गरिन्छ । मद्यपान गरेर कलेजोमा समस्या आएको हो भने त्यसलाई बन्द गरिन्छ ।
 इन्फेक्सनले भएको भने त्यसको उपचार गरिन्छ ।  औषधि, उपचार केही गरेर पनि कलेजो बचाउन नसकिने अवस्थामा वा अन्तिम अवस्थामा भने कलेजो प्रत्यारोपण गरिन्छ । 

को हुन्छन् दाता ? 

कलेजो दान गर्नका लागि विभिन्न मापदण्ड तोकिएका छन् । १८ देखि ५५ वर्षको स्वस्थ मानिसले कलेजो दान गर्न सक्छ । अंगदान गर्दा दुईवटा कुरा हेरिन्छ । एउटा मानसिक र शारीरिक रूपले स्वस्थ रहेको कुरा हेर्नुपर्छ । जसमा दिने मानिस लामो समयसम्म औषधिको सेवन नगरेको, मधुमेह, उच्च रक्तचापजस्ता रोग नभएको, ब्लड गुप्र, पेटको शल्यक्रिया नगरेका व्यक्तिको अंग लिन सकिन्छ । फेरि कलेजो दिन मिलेर मात्रै पनि हुँदैन । बिरामी र डोनरको ‘ब्लड गुप्र’ मिल्नुपर्छ ।

सन् २०१६ अगाडि नेपालको कानुन साँघुरो बनाइएको थियो । त्यसपछि अलि फराकिलो भएको छ । जसमा आफ्नो बुवा–आमा, दिदी–बहिनी, दाजु–भाइ, काका–काकी बाहेक पनि अलिकति टाढाको नातेदारले पनि दिन पाउँछन् । तर, प्रमाणित नाता भने हुनुपर्ने हुन्छ ।

कलेजो प्रत्यारोपण एक जटिल शल्यक्रिया

कलेजो प्रत्यारोपण एक जटिल शल्यक्रिया हो । हिजोआज स्वास्थ्यमा सबैको पहुँच, प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धताले यो शल्यक्रिया नेपालमा पनि सहज रूपमा सम्पन्न भइरहेको छ ।

कलेजो प्रत्यारोपणमा स्वस्थ व्यक्तिलाई चाहिने मात्रा राखेर करिब ४०–५० प्रतिशत कलेजो निकालेर बिरामीमा प्रत्यारोपण गरिन्छ । कलेजो प्रत्यारोपणको समयमा सकेसम्म दातालाई ठूलो समस्या नहोस् भनेर ध्यान दिइन्छ । दाताको सबै स्वास्थ्य परीक्षण गरिन्छ । प्रत्यारोपण गर्दा बिरामीलाई सहज हुन्छ कि हुँदैन भन्नेसमेत हेर्ने गरिएको हुन्छ । 

(फरकधारकर्मी रेश्मा सिंहले काठमाडौं मेडिकल कलेजका असिस्टेन्ट प्रोफेसर डा. रोशन घिमिरेसँग गरेको कुराकानीमा आधारित)  

  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १६:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया