प्रहरीको अनुसन्धानप्रति आपत्ति जनाउँदै रूपेशका दाजुले भने– भाइको कसैसँग प्रेम सम्बन्ध थिएन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराको कलैयामा गत सोमबार गोली हानी हत्या गरिएका रुपेश सर्राफका परिवारजनले प्रहरीको अनुसन्धानप्रति आपत्ति जनाएका छन् । प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको उनको आरोप छ । 

मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसँगको प्रेम सम्बन्धका कारण भाइ रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको बताए । पत्रकारसँगको कुराकानीमा उनले पक्राउ परेकी राधा गुप्तासँग आफ्नो भाइ रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको जिकिर गरे। 

रुपेशको चरित्र त्यस्तो नभएको दाबी गर्दै उनले भने, ‘मेरो भाइको चरित्रबारे औँला उठाउने कुनै ठाँउ नै छैन। प्रहरीले अनुसन्धानमा झारा टार्न मृतक रुपेश र आफ्नो परिवारको चरित्र हत्या गरे।’

प्रहरीले बुधबार कलैयामा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नमध्येका पाँचजनालाई  सार्वजनिक गरेको थियो ।  प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले युवतीसँगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए। प्रहरीले कलैया ६ की २२ वर्षीया राधा गुप्ता हत्याको मुख्य योजनाकार रहेको बताएको थियो । 

लगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरूसँग कुरा गर्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका हुन्। राधा आफ्नो स्कुलमा सात महिनापहिले लेखापालमा कार्यरत रहेको र उनको गलत गतिविधि देखिएपछि स्कुलबाट निकालिदिएको मृतकका दाजु सुबोधले बताए। 

प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न प्रयास गरिरहेको सुबोधले बताए। गोली हान्ने अपराधी चारजनामध्ये अहिलेसम्म प्रहरीले  एकजनालाई पनि पक्राउ गर्न नसकेको उनले बताए । 



सुबोध बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशकसमेत हुन् । प्रहरीले पक्राउ गरेकामध्ये दुईजना युवक निर्दोष रहेको, तर प्रहरीले झुठो आरोपमा उनीहरूलाई फसाएको उनको दाबी छ । 



  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार १९:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया