logo-img

ओमानको चौथो विकेट पतन, सोमपाललाई दोस्रो सफलता
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई चौथो सफलता तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । 

उनले ५.४ ओभरमा शोएब खानलाई शून्यमै बोल्ड गरे । ओमानको तेस्रो विकेट युवा अलराउन्डर गुलशन झाले लिए । उनले पाँचौं ओभरको अन्तिम बलमा ओपनर प्रतीक आठवलेलाई २४ रनमा कप्तान रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए ।     

ओमानको दोस्रो विकेट तीव्र गतिका बलर सोमपाल कामीले लिएका थिए । उनले ३.१ ओभरमा ओमानका स्टार ब्याटर अकिब इलियासलाई ८ रनमा बोल्ड गरे । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । 



उनले ओपनर कश्यप प्रजापतिलाई पहिलो ओभरको पाँचौं बलमा ८ रनमै आउट गरे ।  नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपाल र ओमानबीचको खेल ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो । 

नेपालले आज पनि प्लेइङ–११ मा परिवर्तन गरेको छैन । नेपालले ओमानविरुद्ध पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको हो । नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुग्न चाहन्छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ तथा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल ओमानलाई पनि हराउँदै अपराजित रहन चाहन्छ ।

ओमान पनि समूह चरणको सबै खेल जित्दै सेमिफाइनलमा पुग्ने योजनामा छ । उसले पहिलो खेलमा मलेसियालाई ३२ तथा दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । बिहीबारको खेलपछि सेमिफाइनल समीकरण पनि पूरा हुनेछ । अहिलेसम्म समूह ‘ए’ बाट नेपाल र ओमान तथा समूह ‘बी’ बाट यूएई सेमिफाइनल पुगेका छन् । समूह ‘बी’ बाट अब हङकङ र बहराइनमध्ये एक टिम सेमिफाइल पुग्नेछ । 





  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार ९:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया