logo-img

सरकार बिके पनि न्यायालय बिकेको रहेनछ : भारती मानन्धर

भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या आरोपी रिगल भनिने योगराज ढकाललाई आममाफी बदर गर्ने सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको भन्दै खुसी व्यक्त गरेकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै उनले अदालतप्रति आम नागरिकको भरोसा बढेको बताइन् । 

‘फैसला सुन्दा अब न्यायाधीशहरू पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्योदेखि म गलत भए । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धरधरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो,’ मानन्धरले भनिन्, ‘फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसकेपनि न्यायालय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ ।’

न्यायाधीहरू पनि राजनीतिक दबाबमा आएर दोषीको पक्षमा फैसला सुनाउने हो कि भन्ने सोचेर डराउँदै फैसला सुनेको उनको भनाइ छ । 



‘न्यायाधीश पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरूले पनि मलाई के न्याय दिनुहुन्छ होला र ? दवावमा आएर उहाँहरूले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ,’ मानन्धरले भनिन्, ‘मैले आँखा बन्द गरेर दुई जना साथीहरूको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जित हुन्छ कि हत्याराहरूको जित हुन्छ भन्ने सोचमा म थिएँ ।’ 

उनले अन्यायमा परेका आम पीडितलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् । नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

उक्त निवेदनपश्चात नवौँ संविधान दिवसको अवसरमा आममाफी पाएका ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको हो ।





  • प्रकाशित मिति : कात्तिक १७, २०८० शुक्रबार १७:४९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया