logo-img

ग्लेन म्याक्सवेल, अद्भूत क्षमताका अविश्वसनीय खेलाडी

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा सेमिफाइनल पुग्ने तीन टिमको टुंगो लागेको छ । मंगलबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानविरुद्ध तीन विकेटको रोमाञ्चक जित निकालेसँगै सेमिफाइनलमा पुग्ने तीन टिमको टुंगो लागेको हो ।

अहिलेसम्म अस्ट्रेलियासहित भारत र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा गरेका छन् । अस्ट्रेलियालाई एक खेल अगावै सेमिफाइनलमा पुर्याउन स्टार अलराउन्डर ग्नेल म्याक्सवेल नायक साबित भए । उनले लगभग हारिसकेको खेलमा अस्ट्रेलियालाई जित मात्र दिलाएनन्, सेमिफाइनल नै पुर्याए ।



म्याक्सवेलले आफ्नो अद्भूत ब्याटिङबाट विश्वक्रिकेटको ध्यान खिचे । उनी पूर्णरूपमा फिट नहुँदा पनि ‘वान म्यान आर्मी’ को शैलीमा अन्तिमसम्म मैदानमा लडिरहे । म्याक्सवेल पटक-पटक मैदानमा ढले । तर, उनले अस्ट्रेलियाको इनिङलाई ढल्न दिएनन् । 

म्याक्सवेलाई ब्याटिङ गर्न निकै अप्ठ्यारो भइरहेको थियो । एकपटक त उनी लगभग उठ्नै नसक्नेगरी मैदानमा ढले । तर, अदम्य साहस र बहादुरी देखाउँदै म्याक्सेवल उठे । त्यसपछि उनले सिंगल–डबलभन्दा चौका/छक्कामा जोड दिए । मुम्बईको गर्मीले गर्माएको माहौलमा म्याक्सेवलले चौका/छक्काको वर्षा नै गरे ।



१२८ बलको मात्र सामना गरेका उनले २१ चौका र १० छक्काको मद्दतमा अविजित २ सय १ रन बनाए । म्याक्सवेलको आक्रमण रोक्न अफगानी फिल्डरलाई प्रशस्त माैका पनि मिलेको थियो । तर, क्याच ड्रप हुँदा त्यसको फाइदा म्याक्सवेलले उठाए । 

एक समय अस्ट्रेलिया १८.३ ओभरमा ७ विकेट गुमाउँदै ९१ रनको कमजोर स्थितिमा थियो । यो अवस्थाबाट २ सय ९२ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियालाई जित निकाल्न चमत्कारको आवश्यकता नै थियो । यही चमत्कार म्याक्सवेल र कप्तान प्याट कमिन्सले गरिदिए । उनीहरूले आठौँ विकेटका लागि १७० बलमा अविजित २ सय २ रनको कीर्तिमानी साझेदारी गरे ।



ओडिआई क्रिकेट इतिहासमा आठौँ विकेटका लागि यो अहिलेसम्मकै ठूलो साझेदारी हो । कीर्तिमानको वर्षा गर्नेक्रममा म्याक्सवेल लक्ष्य पछ्याउँदा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने । साथै उनले ओडिआईमा दोहोरो शतक हान्ने पहिलो अस्ट्रेलियन ब्याटरको कीर्तिमान पनि आफ्नो नाममा गरे । म्याक्सवेल विश्वकपमा दोहोरो शतक बनाउने तेस्रो ब्याटर हुन् ।    

यस्तै, उनी विश्वकपमा सर्वाधिक छिटो दोहोरो शतक पूरा गर्ने ब्याटर पनि बने । म्याक्सवेलले ओडिआईमा ओपनरबाहेक दोहोरो शतक बनाउने कीर्तिमान पनि आफ्नो नाममा लेखाए । उनले छैटौँ नम्बरमा आएर दोहोरो शतक हिर्काएका हुन् । अब सेमिफाइनलमा अस्ट्रेलियाकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

अंक तालिकामा दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनल अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने समीकरण बनेको हो । यस्तै, भारतले सेमिफाइनलमा चौथो स्थानको टिमसँग खेल्नेछ ।

चौथो स्थानका लागि न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा छ । न्यूजिल्याण्डले लिग चरणको अन्तिम खेलमा श्रीलंका तथा पाकिस्तानले इंग्ल्याण्डको सामना गर्ने तालिका छ । 

  • प्रकाशित मिति : कात्तिक २२, २०८० बुधबार १२:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया