logo-img

साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ‘करबाकेली काव्ययात्रा’

बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले, मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो।  

पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवर्द्धन गर्ने उद्धेश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए। त्यसैगरी दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिँडेका थिए।

काव्य यात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८ जना सहभागी थिए।



बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवाललगायत स्थानीयले स्वागत गरेका थिए। त्यसैगरी बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए। करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवि गर्बुजा पुनबाट जानकारी लिएका थिए।

उक्त कार्यक्रममा काव्ययात्रीले आआफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए। त्यस्तै गाउँको पुन समुदायले परम्परागत पुख्र्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए। ‘हाम्रो काव्ययात्रा धेरै उपलब्धिमूलक बन्यो’, काव्ययात्राका संयोजक एवं सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौँ।’
  
बेलायती सेनाका रिटायर्र्ड लाहुरे यिनै चामबहादुरको अगुवाइमा काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ। त्यसैगरी पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन्।

उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन्। उनीहरुले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी पाँचदिने काव्ययात्रा पूरा भएको छ।



यात्राका संयोजक चामबहादुर पुनका अनुसार पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ। त्यसैगरी यात्रालाई समेटेर एउटा वृत्तचित्र पनि बनाइनेछ।



  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २३:५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया