चार महिनामा २० प्रतिशत बजेट खर्च
फाइल फाेटाे

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबर छ ।

सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको वार्षिक बजेट विनियोजन गरेको थियो । कात्तिक मसान्तसम्मको खर्चको अवस्था हेर्दा चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत छ ।

चालू आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो । जसमध्ये हालसम्म दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बराबर खर्च भएको छ । पूँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकामा हालसम्म ५४ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

सामान्यतया वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको रकम सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको छ । चालू आर्थिक वर्षमा पूँजीगत शीर्षकमा भन्दा वित्तीय व्यवस्था शीर्षकमा बढी बजेट विनियोजन भएको थियो । सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पूँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको खर्चको अंश बढी छ ।

पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको २० दशमलव ०८ प्रतशित बराबर छ । चालू आर्थिक वर्षका लागि कूल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बराबर राजस्व उठाएको छ । जसमा कर राजस्व दुई खर्ब ५४ अर्ब ३० करोड २२ लाख रुपैयाँ र गैरकर राजस्व २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ बराबर छ ।

त्यस्तै, चालू आर्थिक वर्षका लागि ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अनुदान लिएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ । 





  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १३:३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया