logo-img

आइतबार विश्वकप फाइनल : भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै
भारतमा पूजापाठ र हवन जारी, रेल र हवाई सेवाको विशेष प्रबन्ध

भोलि आइतबार क्रिकेट विश्वकपको फाइनल खेल हुँदै छ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिस्पर्धा गर्दै छन् ।

विश्वकपको फाइनल आइतबार दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका सहरहरूमा छतारे, पाँचतारे र तीनतारेसम्मका सुविधाजनक होटल बुक भइसकेको छ । अरू स्तरका होटलहरूमा पनि कोठाको माग अकासिएको छ ।

क्रिकेटको यो क्रेज यति बलियो छ कि आइतबार रातिको लागि शीर्ष छतारे होटलहरूको कोठा भाडा एक लाख पुगेको छ ।



समर्थकले भारतको जितका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चनासहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन् ।

रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म विशेष ट्रेनहरू चलाउने घोषणा गरेको छ । फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन् ।



खेलअघि एयर सो

फाइनल खेलअघि भारतीय वायुसेनाले एयर सो आयोजना गर्ने भएको छ । भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो सो खेल हुनुभन्दा करिब नौ मिनेटअघिसम्म चल्नेछ ।



फेडरेसन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीका अनुसार दुबई, अष्ट्रेलिया, दक्षिण अफ्रिकाका फ्यानहरू पनि अहमदाबाद उत्रिसकेका छन् । सहरका तीन र पाँचतारे होटलमा ६ हजार नौ सय कोठा छन् । गुजरातमा हजारौँ कोठा छन् । 

खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ । जसका कारण छतारे होटलमा कोठाभाडा एक हजारको सट्टा साढे दुई लाख रुपैयाँसम्म पुगेको छ ।

भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौँ मानिस अहमदाबाद पुगेका छन् । क्रिकेट फ्यानहरूको सुविधाको लागि, भारतीय रेलवेले शनिबार दिल्लीदेखि गुजरातको अहमदाबादसम्म विशेष ट्रेन चलाउने घोषणा गरेको छ ।

रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि थप उडानहरूको व्यवस्था गरेका छन् । त्यहाँ मुम्बई र अहमदाबादबीच दैनिक उडानहरू छन्, फाइनल खेलका कारण उडानको संख्या उत्कर्षमा पुगेको छ ।

शनिबार र आइतबार अहमदाबाद एयरपोर्टमा ८० भन्दा बढी चार्टर्ड विमानहरू अवतरण गर्न सक्ने बताइएको छ । अहमदाबाद एयरपोर्टको क्षमता चार्टर्ड प्लेनको पार्किङका लागि मात्रै छ, यस्तो अवस्थामा गान्धीनगर र वडोदरामा धेरै प्लेन पार्किङ हुनेछन् भने इन्डियन एयरलाइन्स र सेलिब्रेटीका चार्टर्ड प्लेनलाई पनि सुरत, राजकोटमा पार्किङको सुविधा दिइएको छ ।

भारतीय पूर्वकप्तान एमएस धोनी र कपिल देव पनि खेल हेर्न अहमदाबाद पुग्नेछन् । कपिलदेवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।

  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार २१:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया