नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन, राजनीतिक दल र नेताको कार्यशैलीप्रति हो : अमरेशकुमार सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन्। शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो । 

‘संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्था हो । तर यसको गलत प्रयोग भयो । नेताकै गल्तीको कारण अहिले व्यवस्थामाथि प्रश्न उठेको हो”,  संवादका क्रममा सांसद सिंहले भने, ‘जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो ।’

गत प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र सांसदमा निर्वाचित भएका सिंहलाई संसद् र संसदीय समितिहरूले सार्वभौम तरिकाले काम गर्न सकेकोजस्तो लाग्दैन । संसद्लाई ठूला दलले आफू अनुकूल प्रयोग गर्ने गरेको र सत्तापक्ष तथा प्रतिपक्ष दुवैतर्फबाट व्यक्तिगत एवं पार्टीगत अनुकूलता मात्रै खोज्ने गरेको उनको बुझाइ छ । ‘सार्वभौम जनताको प्रतिनिधि रहने संसद् पनि सार्वभौम हुनुपर्ने हो । तर संसद् सञ्चालनमा ठूला दल र तीनका मुख्य नेताको मात्रै भूमिका देखियो’, उनी भन्छन्, ‘सदनमार्फत गर्नुपर्ने निर्णय दलका नेताले गर्छन् । कुनै दलमा जति जना सांसद भए पनि त्यहाँ निर्णय चल्ने भनेको मुख्य नेताको हो । यो आफैँमा गलत परम्परा हो ।’

विधेयकलगायत संसद्मा उठेका विषयमाथि संसदीय दलमा पर्याप्त छलफल नहुने र दलका शीर्ष नेताको अनुमतिबिना सांसदहरूले स्वतन्त्ररूपले आफ्ना कुरा संसद्मा राख्नसमेत नपाउने उनको दाबी छ । ‘कुनै सांसद दलको नेतासँग नजिक छ भने उसलाई बोल्न दिइन्छ । नजिक छैन भने बोल्न पनि दिइँदैन । विगतमा मैले पनि यस्तो भोगेको छु र अहिले पनि यस्तै अवस्था छ’, उनले भने, ‘यो संसदीय व्यवस्थाभन्दा बढी दलीय व्यवस्था भयो । लोकतन्त्रभन्दा बढी दलतन्त्र भयो । यसले लोकतन्त्रको अर्थलाई समाप्त गर्दै गएको छ ।’

व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने मामिलामा सत्तापक्ष र प्रतिपक्ष दुवै मिल्ने गरेको जिकिर पनि सांसद सिंहले गरे । ‘संसदीय व्यवस्थामा सत्तासिन दल र प्रतिपक्ष दल हुन्छन् । तर हामीकहाँ भागबण्डा खोज्ने प्रवृत्तिले सत्तापक्ष र प्रतिपक्ष भन्ने नै देखिएन । संसदीय समितिदेखि नियुक्तिमा भागबण्डा छ । यसले संसदीय व्यवस्थालाई नै अवरुद्ध गरेको छ’, सांसद सिंह भन्छन्, ‘जबसम्म सत्तापक्ष र प्रतिपक्षका बीचमा स्पष्ट रेखा (क्लियर लाइन) र सीमाङ्कन (डिमार्केसन) हुँदैन, तबसम्म संसदीय व्यवस्था बलियो हुन सक्दैन । तर हामीकहाँ को सत्तापक्ष र को प्रतिपक्ष भन्ने नै भएन ।’
 
गत निर्वाचनपछिका दुई अधिवेशनमा निकै कम मात्र विधेयक पारित भएपछि पछिल्लो समय सांसदहरूको विधायिकी भूमिकामाथि पनि प्रश्न उठ्दै आएको छ । निकै कम विधेयक आउनुमा सरकारको पनि कमजोरी रहेको उनको बुझाइ छ । सरकारले संसद्लाई बिजनेस दिन नसक्ने र विधेयकहरू स्वार्थ प्रेरित बढी हुने गरेको सांसद सिंह बताउँछन् । ‘उदाहरणका लागि सरकारले निजामती सेवा विधेयक ल्याउनै सकिरहेको छैन । किनभने यो विधेयक सरकार र विभिन्न दलका ट्रेड युनियनको चेपुवामा परेको छ’, उनी भन्छन्, ‘विधेयकहरू पनि कुनै समूह र बिचौलियाबाट प्रभावित हुन्छन् । विदेशीको पनि प्रभाव छ ।’

राज्यका अङ्गहरूबीच शक्ति सन्तुलन तथा शक्ति पृथकीकरणसमेत हुन नसकेको उनी बताउँछन्  । ‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच नियन्त्रण र सन्तुलन हुन्छ । तर शक्ति सन्तुलनको त्यो सिद्धान्तलाई नै लत्याइएको छ’, उनी भन्छन्, ‘सरकार संसद्प्रति उत्तरदायी छैन । सरकार बनाउनसम्मका लागि मात्रै संसद्को प्रयोग हुन्छ । सरकारलाई हेर्ने (वाचडग), नियमन, नियन्त्रण गर्ने व्यवस्थापिकामा दलको छायाँ हाबी हुन्छ ।’



राजनीतिमा जवाफदेहिताबिनाको उत्तरदायित्व (रेस्पोन्सबिलिटी विथाउट अकाउन्टबिलिटी) हाबी हुनु पनि अर्को समस्या रहेको सांसद सिंहले बताए । राजनीतिमा सदाचार, सादगीपन, देशप्रति निष्ठा र देशलाई अगाडि बढाउने एउटा भिजन तथा प्रतिबद्धता हुनुपर्नेमा नेताहरूले नै ती कुराको तिलाञ्जली दिएको उनको भनाइ छ । 

राजनीतिक दलहरूले संसद्मात्र नभई संसदीय समिति पनि कमजोर बनाएको सांसद सिंहको आरोप छ । ‘सरकारलाई जिम्मेवार बनाउने जवाफदेही बनाउने काममा संसद् र संसदीय समितिहरू कमजोर हुँदै गएका छन् । दलहरूले समितिलाई जानाजान कमजोर बनाइरहेका छन् । किनभने समितिमा पनि दलको छायाँ देखियो’, उनी भन्छन्, ‘संसद्मा उठेका विषयमाथि विषयगत मन्त्रालयको मन्त्रीले जवाफ दिएको देखिँदैन । प्रश्न उठाउने कर्मकाण्डजस्तो मात्रै भयो ।’



  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार ८:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया