कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक
फाइल तस्बिर

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा तथ्याङ्क सङ्कलक खटाएको छ ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो । मन्त्रालयका सचिव डा. नरहरि घिमिरेले प्रदेशभित्रका कृषि र पशुपक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गरिएको बताए । 

‘हामीले जिल्लाका सुरक्षा निकाय र सरोकारवालासँगको समन्वय र सहकार्यमा तथ्याङ्क सङ्कलनको काम थालेका छौँ’, उनले भने, ‘यसका लागि यही मङ्सिर ७ गते नै दुवै नाकामा दुई–दुई जना तथ्याङ्क सङ्कलक खटाइसकेका छौँ ।’ यसबाट कर्णाली प्रदेशमा उत्पादित भएर जाने र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यथार्थ तथ्याङ्क प्राप्त हुने आशा गरिएको उनले बताए ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले यथार्थ तथ्याङ्क उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा परेको कठिनाइ अब हुने तथ्याङ्क सङ्कलनबाट सकिएर जाने बताए । उनले भने, ‘उक्त नाकाबाट दैनिक उपलब्ध हुने कृषि उपजका आयात तथा निर्यातको तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्नेछन् । यसले बजार व्यवस्थापन र गुणस्तर प्रवर्द्धन गर्नेछ ।’

उपलब्ध तथ्याङ्कमार्फत यस मन्त्रालयलाई भावी नीति, कार्यक्रम तथा योजना बनाउन महत्तवपूर्ण सहयोग पुग्ने आशा गरिएको प्रवक्ता कठायतले बताए । उनका अनुसार मन्त्रालयबाट खटाइएका तथ्याङ्क सङ्कलकले पालो मिलाई चौबीसै घण्टा दुवै नाकाबाट प्रदेशभित्र आवातजावत गर्ने सवारीसाधनलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजको विवरणको सोधखोज गरी लिनेछन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार ९:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया