खेर गएको अल्लोबाट आयआर्जन

बझाङको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज्ञान सीपको अभावका कारण जङ्गलमै कुहिएर खेर जाने गरेको थियो । 

अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोला बनाउने तालिम लिएपछि यहाँका महिलाहरूले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रुपमा दर्ता गरी व्यावसायिकरुपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न सुरु गरेका छन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन् । 

जंगलमा त्यतिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्षरुपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिलाहरु आत्मनिर्भर हुने भएपछि स्थानीय महिला व्यवसायमा लाग्न हौसिएका छन् । एक महिनासम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको थियो । तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो ।

समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझी अल्लो व्यवसाय सञ्चालन गर्न सीप तालिम र आवश्यक पर्ने मेसिन औजारहरूको माग गरेपछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको थियो । उनीहरूलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थहरु खरीद गर्न गाउँपालिकाले नगद एक लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो भने व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको थियो । एक महिनाको तालिमपछि देखिएको उत्साहले उनीहरूलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गर्न पहल गरेको कार्यक्रमका क्लस्टर कोर्डिनेटर सुरतबहादुर चन्दको भनाइ छ । 

तालिमका सहभागीहरुले अहिले व्यवसायबाट अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपीहरु उत्पादन गरेका छन् । कतिपयले अल्लोको धागो काठमाडौंमा पठाएर एक पटकमै २० हजार रुपैयाँ आम्दानी पनि गरेका छन् । तालिमपछि आफूहरू व्यवसायप्रति आकर्षित हुनुको साथै सामूहिक भावनाको पनि विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताइन् । कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्रीहरु लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उनी बताउँछिन् । अहिले समूहले एक लाख २२ हजार पाँच सय धागो र कपडा बचेर आमदानी गरेको छ । धागो पाँच सय रुपैयाँ प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको थियो । 

जंगलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताए । रासस





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १३:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया