प्रधानमन्त्रीले चासाे नलिँदा स्वास्थ्य बिमा अलपत्र : गगन थापा

सांसद गगन थापाले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनका लागि संकल्प आवश्यकता रहेको बताएका छन् । नेपाल चिकित्सक संघद्वारा आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको उन्नयनका लागि स्वास्थ्य अर्थशास्त्र’ विषयक अन्तरक्रियामा सांसद थापाले स्वास्थ्य बिमा असफल हुन लागेकामा चिन्ता व्यक्त गर्दै प्रभावकारी बनाउनका लागि संकल्प आवश्यक रहेको बताए । 

संविधानमा लेखेअनुसारको स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गराउनका लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याइए पनि सफल हुन नसकेको बताए । प्रधानमन्त्री तथा उच्च तहमा स्वास्थ्य बिमाबारे छलफल नहुँदा अलपत्र परेको उनको भनाइ छ । 
    
हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बिमा कार्यक्रम सरकारले ल्याएको थियो । स्वास्थ्य बिमासम्बन्धी कानुनलाई आवश्यक संशोधन गर्दै लगेर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

'स्वास्थ्य बिमा राजनीतिक कुरा हो । राजनीतिक दलको नेताले मेरो नागरिकलाई संविधानमा लेखेअनुसार स्वास्थ्य सेवा पुर्याउँछु भन्नुपर्दछ,' उनले भने, 'तर प्रधानमन्त्री तथा हाम्रा राजनीतिक दलका नेताबीच स्वास्थ्य बिमाका बारेमा छलफल भएको मलाई थाहा छैन । त्यसैले स्वास्थ्य बिमा अलपत्र परेको छ ।' 

सांसद प्रकाश पन्थले स्वास्थ्य बिमा कार्यान्वयन गर्नसके संविधानअनुसार नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने धारणा राखे । उनले स्वास्थ्य सेवा र प्रणालीमा सुधारको खाँचो रहेको उल्लेख गर्दै सामाजिक सुरक्षाका नाममा पैसा गइरहेकाले एकद्वारमार्फत स्वास्थ्यमा खर्च गर्नुपर्ने बताए । 

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेर नै बजेट बनाएको बताए । आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बिमालाई व्यवस्थित गर्ने कुरामा गृहकार्य भइरहेको उनकाे भनाइ छ । 

स्वास्थ्य मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले संविधानले सुनिश्चित गरेअनुसार आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपचार गराउन नसकेको बताए । जनशक्ति अभावले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकेको उनकाे भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १५:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया