सावधान ! यस्तो लक्षण भए हुन सक्छ क्यान्सर

पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरू हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्नेबित्तिकै आममानिसमा मृत्युको नजिक पुगेको आभास हुन्थ्यो, तर चिकित्सा पद्धतिमा विकास भएका नवीनतम् उपचार पद्धतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्ण रूपमा निको हुन्छ ।

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रीता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौँ, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनुपर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्ने हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने हो भने वर्षमा एकपल्ट होलबडी चेकअप गराउँदा राम्रो । ‘बाइक र कार भन्दा त हामीले बढी काम गरेका हुन्छौँ । बाइक र कारलाई मेकानिककोमा लागेर बेला–बेला सर्भिस गर्नुहुन्छ, आफ्नो शरीरको गर्नुपर्दैन ?,’ डा. महासेठको प्रश्न छ ।

‘शरीरमा कुनै पनि दुख्ने नदुख्ने गाँठा, कोठीहरू छन्, तिनीहरूको स्वरूप, रंग परिवर्तन भइरहेको छ भने क्यान्सर हुन सक्छ । साथै, महिलाहरूमा स्तन क्यान्सर हुने, पाठेघरको क्यान्सर हुने जोखिम अत्यधिक हुन्छ । हाम्रो खानपान, जीवनशैली र वातावरणका कारण क्यान्सर हुने हो,’ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डा. महासेठले भनिन् ।

क्यान्सरको स्टेज चारवटा हुन्छ भने क्यान्सर दुई प्रकारको हुन्छ । एउटा फैलने अर्को नफैलने । कुन प्रकारको क्यान्सर हो भन्ने चाहिँ अंकोलोजी अर्थात् क्यान्सर विशेषज्ञले आवश्यक स्वास्थ्य परीक्षण गरेपछि थाहा हुन्छ । साधारणतया महिला पुरुषमा छाती तथा फोक्सोको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर, ब्रेन ट्युमर, घाँटीको क्यान्सर, महिलाका स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ओभरीको क्यान्सर बढी हुन्छ । यसका अलावा छालाको क्यान्सर पनि हुने गर्दछ । ‘तेस्रो स्टेजसम्मको क्यान्सरलाई निको पार्न सकिन्छ, तर चौथो स्टेजमा पुगिसकेको छ भने त्यो शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ, त्यसलाई शरीरको अन्य भागमा फैलनबाट रोक्न सकिन्छ,’ डा. महासेठ भन्छिन् ।

क्यान्सर लागि हाल्यो भने नआत्तिन डा. महासेठको सुझाव छ । शरीरमा कुनै गाँठा देखिएमा, कोठीहरू बढेमा, महिलाको स्तनमा दुख्ने, नदुख्ने गाँठा गिर्खाहरू देखिएमा, पाठेघरमा घाउ भए दुखे, लगातार धूमपान मद्यपान गर्नेलाई लगातार खोकी लागे, शरीरको तौल अप्रत्याशित घट्ने देखिएमा क्यान्सर भएको हुन सक्छ । 

‘जति पनि औषधि गर्दा खोकी निको नहुने, सुक्खा खोकी लगातार लाग्ने, ३, ४ महिनामै ६,७ केजी तौल घट्ने, शरीरका भागहरूमा गिर्खा, गाँठो देखिने, स्तनमा दुख्ने नदुख्ने गिर्खा देखिनु त्यसको साइज र रंग परिवर्तन हुनु, कोठीहरूको साइज बढ्ने, रंग परिवर्तन हुने, पेटको क्यान्सरमा कम्प्लिट दिसा नहुने, पाठेघरमा दुख्ने, महिनावारी सकेका महिलामा ब्लिडिङ हुने आदि क्यान्सरका लक्षण हुन्,’ डाक्टर महासेठ भन्छिन् ।



महिलामा बढी देखिने स्तन क्यान्सरमा दुख्ने भन्दा पनि नदुख्ने गाँठा र गिर्खाहरू छ भने त्यो डरलाग्दो हो । ‘गिर्खा आए पनि मलाई दुखेन, म डाक्टरकोमा जान्न भन्नु गलत हो । दुखेको गिर्खा भन्दा नदुखेको गिर्खा डरलाग्दो हो ।’ हरेक अंगको क्यान्सरको फरकफरक प्रकार र लक्षण भएकाले कुनै पनि जोखिम उठाउन नहुने उनको सुझाब छ ।

साधारणतया क्यान्सरको उपचार तीन प्रकारले हुन्छ । पहिलो सर्जरी गरेर क्यान्सर लागेको भाग हटाउने, दोस्रो किमोथेरापी र तेस्रो रेडियोथेरापी । नेपाल मेडिकल कलेजमा क्यान्सरको सर्जरी सेवा र किमोथेरापी सेवा उपलब्ध छ । 



रेडियोथेरापी चाहिँ नेपालका केही सीमित स्वास्थ्य संस्थामा मात्र छ । तथापि, क्यान्सरमा बढी प्रयोग हुने उपचार सर्जरी र किमोथेरापी हो । नेपाल मेडिकल कलेजमा डाक्टर महासेठको नेतृत्वमा अंकोलोजी विभाग नै छ । नेपाल मेडिकल कलेजमा क्यान्सरको स्क्रिनिङ पनि हुन्छ । बिरामीको मनोबल, परिवारको सहयाेग र डाक्टरको उपचारले क्यान्सर निको हुने डाक्टर महासेठको भनाइ छ ।

  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार २२:४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया