भूकम्पको त्रासमा विद्यार्थी, अझै सहज हुन सकेन पठनपाठन

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैंझैँ विद्यालय आउँछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास मावि । 

विद्यालय नजिकै भएकाले सिन्दुलाई अध्ययनको लागि विद्यालय आउन समस्या छैन, यही ४ मङ्सिरमा विद्यालय सञ्चालन भएदेखि नै उनी नियमित विद्यालय आएको बताउँछिन् । तर, मल्ललाई न घर न विद्यालय जहाँ भए पनि भूकम्पको त्रास भने अझै हटिसकेको छैन । 

गत १७ कात्तिकको राति गएको भूकम्पको झलझली याद आउने गरेको सिन्दु सुनाउँछिन् । पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको विद्यार्थीले बताउँदै आएका छन् । कक्षा ५ मा अध्यनरत विपीन मल्लको पनि समस्या सिन्दुको भन्दा फरक छैन । विद्यालय नियमित आउने गरे पनि पढ्नलेख्न मन नलाग्ने, विद्यालयमै अध्यनरत साथी गुमाउनुको पीडा बेलाबेला सम्झिँदा झन् चिन्ता लाग्ने गरेको विपीन बताउँछन् ।  

अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि जाडोको  समस्या हुने गरेको कक्षा ८ मा अध्यनरत पुस्तक चन्दको गुनासो छ । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न पनि असज हुने गरेको विद्यार्थी बताउँछन् । जनविकास माध्यमिक विद्यालयमा हाल सातवटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सुरु गरिएको छ । 

अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापाले बताए । उनका अनुसार १७ कात्तिकको भूकम्पले दुईवटा विद्यालयका आठवटा कोठा पूर्णरूपमा ध्वस्त बनाएको छ । बाँकी तीनवटा विद्यालयका भवन पनि बस्न नमिल्ने गरेर चिराचिरा परेका छन् ।

हाल विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । भूकम्पका कारण सोही विद्यालयमा  अध्यनरत तीन जनाले ज्यान गुमाउनु पर्‍याे । विद्यालयले मानवीय क्षतिसँगै भौतिक संरचनाको पनि क्षति बेहोर्नुपरेको प्रधानाध्यापक थापा बताउँछन् । प्रअ थापाका अनुसार कक्षा ८ मा अध्ययरत १४ वर्षीया प्रेमा मल्ल, सोही कक्षामा अध्यनरत १४ वर्षकै विराज मल्ल र कक्षा ५ मा अध्यनरत ११ वर्षीया चन्द्रकला खड्काको मृत्यु भयो । 



साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको प्रअ थापाको भनाइ छ । विद्यालयमा लामो समयसम्म बस्न मन नगरेपछि केही समय मनोसामाजिक परामर्श दिएर घर पठाउने गरिएको छ । विद्यार्थी पुरानै लयमा फर्किन करिब अझै एक महिना लाग्ने उनको भनाइ छ ।

पाठ्यक्रमको विषयवस्तुभन्दा पनि विद्यार्थीको मनोबल बढाउन अन्य बाह्य कुरा सिकाउने गरिएको छ । सामान्य खालको मनोसामाजिक परामर्शले विद्यार्थीलाई नपुग्ने भएका विषेशज्ञबाट मनोसामाजिक परामर्श आवश्यक रहेका प्रअ थापाले बताए ।  



विद्यायलमा भूकम्पकै कारण खानेपानीको पनि समस्या रहेको छ । विद्यालयलाई केही संघसंस्थाले सहयोग गरे पनि विद्यार्थीका शैक्षिक सामग्री, चिसोको लागि न्यानो कपडा आवश्यक रहेको शिक्षक सुुनिल मल्लले जानकारी दिए । उनका अनुसार विद्यालमा तीन सय १५ विद्यार्थी सङ्ख्या रहेकामा कमै विद्यार्थी विद्यालय आउने गरेका छन् । भूकम्पको त्रासका कारण विद्यार्थीको सङ्ख्या न्यून देखिएको उनको भनाइ छ । 

भूकम्पले विद्यालय भवनमा क्षति पुर्‍याएपछि आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भइरहेको छ । भूकम्पपछि विद्यालमा पनि अस्तव्यस्त भएकाले विद्यार्थीलाई पुरानैलयमा ल्याएको लागि अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगर प्रमुख रवि केसीले जानकारी दिए ।

भूकम्पले विद्यालयमा क्षति पुर्‍याएपछि तत्कालको लागि छुट्टाछुट्टै कक्षा सञ्चालन गर्न नसकिएको र बहु कक्षामार्फत विद्यार्थीलाई सिकाइ सहज बनाएको उनको भनाइ छ । विद्यार्थीलाई  पूर्णरूपमा पुरानै लयमा फर्काउन अझै एक महिना मनोपरामर्श सेवा आवश्यक पर्ने केसीले बताए । ‘यही मङ्सिर ४ गतेदेखि विद्यालय सञ्चालनमा आए पनि पठनपाठन प्रभावकारी हुनसकेको छैन, प्रभावकारी बनाउनेतर्फ लागि परेका छौँ, पुरानै लयमा विद्यार्थी फर्किसकेका छैनन् । अझै केही समय लाग्छ । विद्यार्थी पुरानै लयमा फर्किएपछि पठनपाठन प्रभावकारी हुन्छ । जाडो तथा अन्य मेलापर्वमा हुने बिदा कटाएर विद्यार्थीको कोर्स पूरा गर्ने योजना बनाएका छौँ’, नगर प्रमुख केसीले भने ।   

हाल जिल्लाभर दुई सय १३ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन भइरहेको शिक्षा विकास समन्वय इकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए । उनका अनुसार जिल्लाभर १ सय ८ विद्यालयका ५ सय ४४ कक्षा कोठामा क्षति पुगेको छ । त्यस्तै ३८ वटा शौचालयमा पनि क्षति पुगेको प्रमुख पुनले जानकारी दिए ।

सामाजिक विकास कार्यालका अनुसार जिल्लामा भूकम्पका कारण १८ जना विद्यार्थी र एकजना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एकजना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् । 

भूकम्पका कारण ११ हजार ९ सय ५२ विद्यार्थी प्रभावित भएका छन् । गत १७ कात्तिकको राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव  ४ म्याग्निच्युडको भूकम्पका कारण  विद्यालय भवन क्षति पुर्‍याएपछि रुकुम पश्चिम र जाजरकोटमा हजारौं विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चउरमा बसेरै पठनपाठन गर्न  बाध्य छन् । रासस  

  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार २२:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया