प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन पनौतीमा महायज्ञ
फाइल तस्बिर

काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि  महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको उक्त विद्यालयको भवन हाल निर्माण थालिएको छ ।  

पनौती नगरपालिका–६ गोरखनाथ मन्दिर नजिक निर्माणाधीन अवस्थामा रहेको विद्यालय भवन बनाउन महायज्ञ आयोजना गरिएको स्थानीय युवा पण्डित अच्युत भट्टराईले जानकारी दिए । उनका अनुसार भवन निर्माण गर्न रु एक करोड सात लाखको अनुमान गरिएको छ । महायज्ञ पनौती–७ स्थित लायकु डबलीमा शनिबारदेखि एक हप्तासम्म सो महायज्ञ सञ्चालन गरिने छ । 

महायज्ञमा युवा पण्डित भट्टराईले नै कथा वाचन गर्नुहुने कार्यक्रम छ । महायज्ञअन्तर्गत शनिबार पनौती बजारमा कलशयात्राको आयोजना गरिएको छ । महायज्ञबाट सङ्कलित सम्पूर्ण रकम भवन निर्माणका लागि नै खर्चिने जनाइएको छ ।

यस्तै, भवन निर्माणका लागि देश–विदेशमा रहनुहुने नागरिकले व्यक्तिगतरूपमा सहयोग गर्न थालेका छन् । गुरुकुल शिक्षाप्रति चासो राखेका स्थानीयले पनौतीमा दुई वर्षअघि बागमती प्रदेशस्तरको गुरुकुल स्कुल संस्थागत गरेका थिए । 

हाल पनौतीस्थित त्रिवेणीघाट सत्तलमा बटुक अध्ययन गरिरहेका छन् । बटुकलाई गुरुकुलमा संस्थागत गरी प्रदेशस्तरको स्कुल स्थापना गरिएको भट्टराईले बताउनुभयो । उहाँका अनुसार आउँदो शैक्षिकसत्रदेखि बटुक सङ्ख्यासँगै कक्षा थप्दै जाने योजना बनाइएको छ ।

गुरुकुलमा अध्ययनरत बटुकलाई कर्मकाण्ड र धर्ममात्रै नभई आधुनिक शिक्षाको ज्ञान–सीप प्रदान गरिने जनाइएको छ । यस्तै, उक्त गुरुकुलबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी शिक्षालाई व्यवस्थित गर्न सोहीअनुसारको शिक्षा पहिचान गरिएको पण्डित भट्टराईले बताए । 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ८:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया