नेपाललाई ५ अर्ब ९ करोड अनुदान दिँदै जर्मनी

जर्मनी सरकारले करिब ५ अर्ब ९ करोड रुपैयाँ अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । 

मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिइन् ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब १३ अर्ब रुपैयाँ ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्मितरुप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पोलिटेक्निक इन्स्टिच्युट स्थापना र रासायनिक मल खरिदका लागि साउदी अरबबाट प्राप्त हुने २० लाख अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् ।

भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रजेक्ट’ कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गर्ने र कैलालीको त्रिनगर र कपिलवस्तुको सुठौली नाकामा विरुवा वा विरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न क्वारेन्टिन ‘चेकपोष्ट’ स्थापना गर्ने निर्णय सरकारले गरेको छ । 

यसैगरी बैठकले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतम तथा सदस्यमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गरेको छ ।  





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार २०:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया