चितवनमा सडक दुर्घटना : दुईको मृत्यु, तीनजना घाइते

चितवनमा जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडि सवार उनकी श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएका छन् । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 
यस्तै, बिहीबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रणबहादुर बानियाँको मृत्यु भएको हो । 

गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र–०६–०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन् छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार २२:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया