जैविक ऊर्जा खपत कम गर्न धनी राष्ट्र अनिच्छुक
‘जैविक ऊर्जाको प्रयोग तत्काल रोक्नुपर्छ’

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (क्लाइमेट एक्सन नेटवर्क) ले पेरिस सम्झौताको कार्यान्वयनका लागि जैविक ऊर्जाको प्रयोग रोक्ने सम्बन्धमा कोप–२८ ले कठोर निर्णय गर्नुपर्ने बताएको छ ।  

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन कोप–२८ मा जैविक ऊर्जा प्रयोग गर्ने ठूला र धनी राष्ट्रहरूले हटाउन नसकिने भन्दै आफ्नो अडान नछोडेपछि क्यानले त्यसतर्फ चासो देखाएको हो । जलवायु परिवर्तनमा काम गर्दै आएका नागरिक समाजहरूको विश्वव्यापी नेटवर्क क्लाइमेट क्यानले तत्काल जैविक ऊर्जा रोक्ने निर्णय गर्न ढिलाइ भएमा जलवायु परिवर्तनजन्य समस्याहरु थपिन सक्ने चेतावनी दिएको हो । 

क्यानले कोइला र जैविक ऊर्जा अत्यधिक खपत गर्दै आएका विकसित देशहरूले शक्तिको आडमा आफू अनुकूल हुनेगरी जैविक ऊर्जाको प्रयोगलाई कायमै राख्नुले गरिब मुलुकलाई जलवायु न्याय दिन नसक्ने टिप्पणी गरेको छ । उसले जैविक उर्जा खपतका सम्बन्धमा पेरिस सम्झौता कार्यान्वयन तथा आफ्नै प्रतिवद्धताबाट शक्ति राष्ट्रहरू पछि हट्न नमिल्ने तर्क गरेको छ । 

क्यानको तर्फबाट अन्तर्राष्ट्रिय पर्यवेक्षकको रूपमा सम्मेलनका सहभागी कोलिन म्याक्युस्टनले विश्व तापमा वृद्धि रोक्नका लागि तत्काल जैविक ऊर्जाको प्रयोग रोक्ने निर्णय गरिनुपर्ने बताएका हुन् । पृथ्वीको तापक्रम बढ्दै जानु र विकसित मुलुकहरूको जैविक ऊर्जाप्रतिको मोह नघट्नुले जलवायु न्यायमा प्रत्यक्ष प्रभाव पार्ने टिप्पणी उनले गरे । 

क्लाइमेट एक्सन नेटवर्ककमा जलवायु तथा अध्ययनशिलतासम्बन्धी विज्ञ कोलिन म्याक्युस्टनले जैविक उर्जाको प्रयोग बन्द नगर्दासम्म जलवायु परिवर्तनको असरविरुद्ध लड्न नसक्ने वैज्ञानिक तथ्यलाई ठूला देशले बेवास्ता गरेको बताए ।  

जलवायु परिवर्तनसम्बन्धी कोषमा उपलब्ध गराएको आर्थिक सहायताको आडमा धनी भनिएका देश जैविक ऊर्जाको प्रयोग घटाउन अनिच्छुक भएको बताए ।



क्यानका अन्तर्राष्ट्रिय प्रतिनिधि कोलिनले कोप–२८ मा हानि नोक्सानी कोष कार्यान्वयनको सम्बन्धमा भएको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिए । उनले कोष कार्यान्वयनमा लैजाने र त्यसको नेतृत्व गर्ने निकाय पनि टुंगो लागेबाट जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सबैलाई खुशी बनाएको उल्लेख गरे । 

प्राक्टिकल एक्सनका जलवायु उत्थानशील कार्यक्रम प्रमुखसमेत रहेका कोलिनले जलवायुलाई सबैभन्दा बढी असर गरिरहेको जैविक उर्जाको प्रयोग कम गर्ने सवालमा कोपका सदस्य राष्ट्रहरूबाट विज्ञानलाई नै चुनौती दिने किसिमका प्रतिक्रिया आउनु दुःखद् भएको बताए ।



जैविक उर्जा प्रयोग बन्द गर्ने विषय ग्लाल्स्को सम्मेलनमा विवादीत बनेको थियो । दुबई सम्मेलन सकिन २ दिन बाँकी रहँदा यस सम्बन्धमा कुनै निर्णय भएको छैन । क्लाइमेट एक्सन नेटवर्क (क्यान) ले सबै किसिमका जैविक उर्जाको प्रयोग बन्द गर्नुपर्छ भन्दै विश्वव्यापी वकालत गर्दै आएको छ । 

यसैबीच दुबईको एक्स्पो सिटिमा जारी सम्मेलनमा जैविक ऊर्जा प्रयोग रोक्न माग गर्दै दैनिक प्रदर्शन भइरहेका छन् । जलवायु न्यायको क्षेत्रमा वकालत गर्दै आएका विभिन्न मुलुकका सहभागीले जैविक ऊर्जाको प्रयोग रोक्न माग गर्दै प्रदर्शन गरेका हुन् ।  

त्यसैगरी निरन्तर वृद्धि हुँदै गएको पृथ्वीको तापक्रमले मानवजीवनमा पार्ने असरका बारेमा प्रतिकात्मकरूपका प्रदर्शन पनि हुँदै आएका छन् । 

  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार १३:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया