मंगलबार पशुपतिमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख देखाइने

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । मंगलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंखलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मंगलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ । 

बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ । भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ ।

मंगलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइनेछ । मंगलबार नै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहोर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।



सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहनेछ । केही फोहोर भने आजै कोषका कर्मचारीले सफा गरेका छन् । बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहोर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए । 



  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २३:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया