नमूना सहर बुर्तिबाङलाई फोहोर व्यवस्थापनमा चुनौती, जथाभाबी फाल्दा खोलाहरू दुर्गन्धित

बागलुङमा जथाभाबी फोहोर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहोरको डङ्गुरले भरिएको छ ।  

दैनिक हजारौं यात्रु त्यही फोहोरको डङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । १० नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा वस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहोर पनि बढ्दै गएको छ । 

बजारबाट निस्कने फोहोर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहोर पनि थोरै निस्कन्थ्यो ।

सबै फोहोर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर, अहिले बजारबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले ६ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहोर फाल्दै आएको छ । 

बजारको फोहोर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहोर पुनः बजारसम्म पुर्‍याउँछ । फोहोरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहोर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहोर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ ।  



आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहोरका कारण जलचर जीवलाई असर पुगेको छ । 

फोहारकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरू बताउँछन् । हाल फोहोर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहोर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याँक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहोर एकै ठाउँ फालिँदै आइएको छ । 



खोला छेउमा फोहोर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहोर सडक भरी खसाल्दै ल्याउने र जथाभाबीरूपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ । वर्षौंदेखि बजारको फोहोर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । 

हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहोरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहोर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको  बताए । 

आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहोर व्यवस्थापन हुने उपप्रमुख कायतको विश्वास छ । रासस 

  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ७:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया