logo-img

‘भूपू आर्मीसँग बिहे गराइदिन्छु’ भन्दै बोलाएर हत्या, ६ वर्षपछि विदेशबाट फर्किँदा विमानस्थलबाटै समातिए जगत
फाइल तस्बिर

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ पुस २०७४ सालमा काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बोक्सिदहडाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।  

४ पुस २०७४ सालमा अन्दाजी ५० वर्षीया महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो । सोही अपराधमा संलग्न दुई व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी रहेका छन् । अधिकारी भने २९ कात्तिक ०७९ सालमा चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ । 



अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो ।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई ‘भूपू आर्मीसँग विवाह गराइदिन्छु’ भनी १५/२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनी फोन गरी बोलाएका थिए । 

माछापोखरी क्षेत्रमा तीन जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु क्षेत्रमा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडि बसेका थिए ।



शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए । सोहीक्रममा अधिकारी र विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गइ बसेका थिए ।

उनीहरू अर्को दिन बिहान पूर्व जाने गाडी चढी फरार रहेका रहेका थिए । आरोपी नेपाल आउँदै छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले यही ४ पुसमा जगतलाई पक्राउ गरेको हो ।



अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी गत वर्षको २९ कात्तिकमा चोरी मुद्दामा ३ वर्ष कैद सजाय भइ नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।  

  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार १३:४१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया