logo-img

मानव बेचबिखन र गुण्डागर्दीको पृष्ठभूमि भएका रोज राणा आरजुको दबाबमा यसरी बने मन्त्री

रोज राणा भनेर चिनिने नेपाली फिल्मका निर्माता, निर्देशक, नायक  तथा अभिनेता सरोज थापा लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका राणाको परिचय त्यतिमा मात्रै सीमित छैन । उनी  विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार भई प्युठान प्रदेश सभा ‘ख’ बाट बिजयी राणाको पृष्ठभूमि विवादित मात्रै छैन उनले आफूलाई ‘गुन्डा नाइके’ नै स्थापित गरेका छन् ।  राजनीतिमा आउनुअघि राणाले चेलीबेटी बेचविखन तथा गुण्डागर्दी जस्ता मुद्दाको सामना गर्नु परिसकेको छ । 

काठमाडौंको बागबजार, गोंगबुलगायत क्षेत्रमा डान्सबारसमेत सञ्चालन गरिरहेका राणा मानव बेचबिखन र गुण्डागर्दीको अभियोगमा पटकपटक प्रहरीको कस्टडीमा पुगेका थिए । प्रहरीमा भएको रेकर्डअनुसार मानव बेचबिखनको अभियोगमा २०६७ वैशाख १३ गते उनी पक्राउ परेका थिए । मानव बेचबिखनसम्बन्धी जाहेरी परेपछि प्रहरीले राणालाई नियन्त्रणमा लिएको थियो ।



प्रहरी नियन्त्रणमै रहेका बेला राणामाथि अर्को जाहेरीसमेत परेको थियो । उनका डान्सबारमा युवतीहरूलाई नग्न रूपमा नाच्न लगाएको आरोपसहित जाहेरी परेको थियो । उनलाई प्रहरीले मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको थियो । त्यसबेला राणा ६ महिना पुर्पक्षका लागि थुनामा बसेका थिए । प्रहरी रेकर्ड अनुसार राणा पटक पटकसम्म पक्राउ पर्दै छुट्दै गरेको देखिन्छ । राणाले कहिले गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ तथा कहिले कुमार श्रेष्ठ ‘घैंटे’ निकट भएर गुण्डागर्दी गर्दै आएका थिए ।

उनै गुन्डा नाइके राणालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री बनाइदिएपछि चौतर्फी आलोचना भइरहेको छ । आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका राणालाई मन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले दबाब दिएको कांग्रेसभित्रै चर्चा छ । प्रहरीबाट जोगिन राजनीतिको फेरो समात्दै कांग्रेसभित्र पसेका उनी आरजु निकट मानिन्छन् ।

विवादित पृष्ठभूमिका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भन्दै कांग्रेसका अधिकांश प्रदेश सभा सदस्यहरू नै असन्तुष्ट छन् । मुख्यमन्त्री चौधरीले सरकारको नेतृत्व गरेको झन्डै आठ महिनापछि आइतबार तेस्रो पटक सरकार विस्तार गरेका हुन् । राणासँगै माओवादी केन्द्रकी कृष्णा केसी नयाँ मन्त्री बनेका हुन् ।  





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार १३:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया