झ्याजेटोलवासीको आम्दानीको स्रोत तरकारी, एक सिजनमै ७० लाखको निकासी
‘एक याममा ४ लाख त प्रत्येक घरकाले कमाउँछन्’

दैलेखको गुराँस गाउँपालिका–८ झ्याजेटोलका गोपीलाल खड्काले यस वर्ष तरकारी बेचेरै करिब ५ लाख रुपैयाँ कमाइसकेका छन् । उनले बारीमा आलु, काउली र टमाटर लगाउने गरेका छन् । 

खड्का तरकारी बेचेरै घरखर्च र केटाकेटीको पढाइ खर्च कटाएर बचत गर्ने गरेका छन् ।

‘हाम्रो यो टोलमा तरकारी उत्पादन धेरै हुन्छ, हामी फागुनमा आलु लगाउँछौँ असार साउनमा निकाल्छौँ । आलुसँगै काउली बन्दा, टमाटर पनि चैत–वैशाखदेखि नै लगाउँछौँ । अनि वर्षायाममा हुने भएकाले राम्रै फल्छ र बजार पाए आम्दानी पनि हुन्छ’, उनले भने, ‘मेरो भएको जग्गाको अधिकांश बारीमा तरकारी लगाउने गरेको छु । केही नभए पनि एक याममा तीन/चार लाख रुपैयाँ त प्रत्येक घरकाले कमाउँछन् । तर, हामीलाई उत्पादन गरेको तरकारी बजारसम्म पुर्याउन समस्या छ ।’

खड्का मात्रै होइन, झ्याजेटोलकै गगनबहादुर खत्रीले पनि आफ्नो अधिकांश जग्गामा तरकारी खेती गर्दै आएका छन् । उनी पनि याममा ४ देखि ५ लाख रुपैयाँ कमाइ गर्छन् । ‘सबैभन्दा राम्रो कमाई आलुबाट हुने गरेको छ, आलुसँगै अन्य काउली र बन्दाले पनि भाउ पाए त राम्रै हुन्छ । तर कहिलेकाहीँ भाउ पाउँदैन,’ खत्रीले भने । 

यो टोलमा ९ घरपरिवार छन् । सबै घरपरिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । एकयाममा मात्रै तरकारी खेती गर्ने गरिएको छ । तर, पनि आम्दानी राम्रो छ । अर्का किसान बालकुमारी खत्री भन्छिन्, ‘वर्षायाममा मात्रै खेती गर्ने गर्छौँ । हिउँदयाममा तुसारो जम्छ, तरकारी उत्पादन गर्न सकिँदैन । हिउँदमा पनि उत्पादन गर्न सक्ने भए वर्षमा १० लाख रुपैयाँसम्म एकजना किसानले आम्दानी गर्न सक्थ्यो ।’ 

यहाँ फागुन चैतबाट तरकारी खेती सुरु हुन्छ भने कात्तिकसम्म बिक्री वितरण गर्ने गरिन्छ । अर्का किसान यामबहादुर ओली भन्छन्, ‘फागुनमा आलु लगाउँछौँ, असार साउनमा निकालेर बेच्न सुरु गर्छौँ, काउली बन्दा भने त्यसको बेर्ना तयार गरेर वैशाखबाट लगाउन सुरु गर्छौँ, अनि असारमा बेच्ने गर्छौँ । भाउ पायो भने त मनग्य आम्दानी हुन्छ ।’



तरकारी खेतीका लागि उपयुक्त ठाउँ रहेको सो टोलका किसान स्थानीय पालिकाबाट सहयोग नपाएको गुनासो गर्छन् । आफूहरूलाई अनुदानमा मल र बिउ उपलब्ध गराउनुपर्ने र  विभिन्न सरकारी कार्यक्रम लागू गर्न माग गर्छन् । 

किसान हीरादेवी केसीले यहाँ पालिका तथा संघीय सरकारबाट कुनै पनि कार्यक्रममा नआएको बताइन् । ‘यहाँ यति धेरै उत्पादन हुन्छ, हामीलाई समस्या भनेको सडकको छ, गाउँको माथिसम्म कच्ची सडक त आएको छ, तर सधैं चल्दैन । हामीले आलुको बिउ महँगोमा किन्नुपर्छ, मल पनि हामी पाउँदैनौँ,’ उनले भनिन् । 



उनका अनुसार यो टोलमा एकजना किसानले ५० क्विन्टलसम्म आलु फलाउने गरेका छन् । अर्का किसान कृष्णबहादुर खत्रीले उत्पादन तरकारी बोकेर लैजान समस्या रहेको जनाउँदै बस्तीसम्मै बाटो निर्माण गरिदिन माग गरे । गुराँस–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बाटो नपुगेका वस्तीमा बाटो  र भएका बाटो विस्तारका लागि पहल गर्ने बताए ।  

प्रदेश सरकारले भने किसानको सहजताका लागि विगतभन्दा फरक तरिकाले कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उत्पादन क्षेत्रलाई नै समेट्नेगरी योजना निर्माण गरिएको जानकारी दिए । 

‘कुन ठाउँमा के उत्पादन हुन्छ, त्यही क्षेत्रलाई लक्ष्य गरी कार्यक्रम बनाइरहेका छौँ,’ उनले भने, ‘जस्तै झ्याजेटोल आलुका लागि उपयुक्त छ भने आलु पकेट क्षेत्र बनाएर किसानलाई प्रोत्साहित हुने कार्यक्रम हामीले बनाउने गरेका छौँ । आगामी वर्षको कार्यक्रममा त्यस क्षेत्रका किसानको आवश्यकताअनुसार कार्यक्रम बनाउँछौँ ।’ रासस 

  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ८:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया