logo-img

राष्ट्रिय प्रसारण लाइनमा जोडियो झापा इनर्जीको १० मेगावाट विद्युत्
फाइल तस्बिर

नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ ।

प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए । ‘झापा इनर्जीको यो परीक्षण उत्पादन हो । केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ,’ उनले भने ।

उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो ।



झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको सबस्टेशनमा जोडिरहने जानकारी दिए । परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युतको कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन ।

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोड रुपैयाँको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । 

परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ । परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । 



सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैंले ९ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच १२ मंसिर २०७८ मा विद्युत् खरिद सम्झौता भएको थियो ।  

सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । रासस 



  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार ८:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया