logo-img

आयात र निर्यातमा आकाश–जमिनको फरक : यी हुन् नेपालमा बढी आयात हुने १० वस्तु

अर्थतन्त्रमा देखिएका समस्याको प्रत्यक्ष असर समग्र वैदेशिक व्यापार परेको छ । चालू आर्थिक वर्ष (आव)मा आर्थिक गतिविधि बढेर व्यापार वृद्धि हुने अपेक्षा गरिएको भए पनि पाँच महिनामा आयात खुम्चिएको छ । आर्थिक गतिविधि सुस्त भएकै कारण चालू आर्थिक वर्ष ०८०–८१ को पाँच महिना (साउनदेखि मंसिरसम्म)मा आयात ३.३९ प्रतिशतले घटेको छ । 

भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४२ अर्बको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब रुपैयाँको आयात भएको थियो । 

समग्रमा आयात घटे पनि मासिक आधारमा भने मंसिर एक महिनामा आयात बढेको छ । उक्त महिनामा एक खर्ब २९ अर्ब ७० करोड रुपैयाँको आयात हुँदा कात्तिकमा एक खर्ब चार अर्ब रुपैयाँको आयात भएको थियो । यस्तै भदौ र असोजमा भने चाडपर्व लक्षित आयात धेरै भएको थियो । सो समय एक खर्ब ३० अर्बदेखि एक खर्ब ४८ अर्ब रुपैयाँसम्म आयात भएको थियो । यसरी बजारमा उत्पादन र उपभोग घटेकाले आयातमा गिरावट आएको अर्थ विज्ञहरूको भनाइ छ । यसले अर्थतन्त्रमा समस्या रहेको  संकेत गर्छ । नेपालको आयातको प्रकृतिमा उल्लेख्य परिवर्तन आउँदै गरेको देखिएको छ । विलासिताको वस्तु आयातमा कमी आउँदा अत्यावश्यक वस्तुको आयातमै ठूलो हिस्सा खर्च हुन थालेको पछिल्लो तथ्यांकले देखाएको छ ।




यी हुन् धेरै आयात हुने वस्तु 

१. डिजेल, पेट्रोल र एलपिजी ग्यास

आयात हुने वस्तुमा सबैभन्दा बढी पेट्रोलियम पदार्थकै छ । चालू आर्थिक वर्षको पाँच महिनामा १ खर्ब ११ अर्ब ७६ करोडको डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास आयात भएको छ । यस अवधिमा ५३ अर्ब ९० करोड ३२ लाख, पेट्रोल २८ अर्ब ५५ करोड ८६ लाख र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको र ग्यास आयात गरिएको छ ।



गत आर्थिक वर्ष २०७९-८० को पहिलो ५ महिनामा १ खर्ब ३४ अर्ब ३६ करोडको पेट्रोलियम आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्ष सवा ५ अर्बको पेट्रोलियम पदार्थ घटेको छ ।
 
यस्तै, आर्थिक वर्ष ०७९-८० मा दुई खर्ब ८१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा आव ०७८-७९ मा तीन खर्ब आठ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । यसरी तथ्यांकलाई आधार मान्दा पछिल्लो समय निरन्तर पेट्रोलियम पदार्थको आयातमा कमी आइरहेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको आयात घट्नुको कारण विद्युतीय गाडीमा प्रोत्साहनको नीति हुन सक्ने विज्ञहरूको भनाइ छ । पाँच महिनाको तुलनामा झन्डै ३ गुणाले विद्युतीय सवारी आयात बढेको भन्सार विभागको तथ्यांक छ ।



यस्तै, नेपाल आयल निगमका अनुसार पछिल्लो समय मुलुकमा देखापरेको आर्थिक संकटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको हो । औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको छ । पछिल्लो समय आर्थिक संकटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । 

२. फलाम तथा स्टिल आयात

दोस्रो नम्बरमा नेपालमा आयात हुने वस्तुमा फलाम र स्टिल रहेको छ । नेपालमा फलामको खानी रहेको बताइए पनि त्यसको उत्खनन गर्न नसक्दा नेपालले बर्सेनि धेरै फलाम आयात गर्दै आइरहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा ६० अर्ब ९७ करोड ६ लाख ८१ हजार रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । गत वर्षको सोही अवधिमा ६३ अर्ब ९० करोड २२ लाख २९ हजार रुपैयाँको फलाम तथा स्टिल आयात भएको थियो । 

यस्तै, आर्थिक वर्ष ०७९–८० मा कुल १ खर्ब ५३ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको छ । आर्थिक वर्ष ०७८–०७९ मा १ खर्ब ८५ अर्ब रुपैयाँको फलाम तथा स्टिल आयात भएको थियो । उद्योग स्थापना गर्न आवश्यक वस्तु फलाम तथा स्टिल हो । चलिरहेका कलकारखाना मर्मतसम्भार र विस्तारका लागि पनि फलाम, स्टिल तथा पार्टपुर्जा आवश्यक पर्छ ।

३. इलेक्ट्रोनिक र बिजुली उपकरण आयात

त्यस्तै, अर्को धेरै रुपैयाँ खर्च गरेर नेपाल भित्रिने वस्तुमा यातायातका साधन तथा विद्युतीय सामग्री रहेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा ४५ अर्ब २४ करोड १ लाख ४० हजारको इलेक्ट्रोनिक र बिजुली उपकरण आयात भएको छ । गत वर्षको सोही अवधिमा भने ४२ अर्ब ९० करोड ७९ लाख ८ हजार यातायातका साधन तथा विद्युतीय सामग्री आयात भएको थियो ।

आर्थिक वर्ष ०७९–८० मा ५८ अर्ब ८ करोड रुपैयाँको यातायातका साधन तथा विद्युतीय सामग्री आयात भएको थियो । आर्थिक वर्ष ०७८–७९ मा यस्तो आयात ६८ अर्ब रुपैयाँको भएको थियो । अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ । मोबाइल, टिभी यही वर्गमा पर्छन् ।

४. मेसिनरी तथा पार्टपुर्जा

चौथो नम्बरमा बढी रुपैयाँको आयात हुने वस्तुमा मेसिनरी तथा पार्टपुर्जा रहेका छन् । कारखानादेखि जलविद्युत् आयोजनासम्मका लागि चाहिने यस्ता मेसिनरी आयात चालू आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ४२ करोड ४२ लाख ४६ हजार रुपैयाँको रहेको छ । गत वर्षको सोही अवधिमा ४१ अर्ब १५ करोड २० लाख २२ हजार रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात भएको थियो । 

गएको वर्ष भने ९२ अर्ब ८३ करोड रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा कमी हो । आर्थिक वर्ष ०७८–७९ मा १ खर्ब ४४ अर्ब रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात भएको थियो । नयाँ उद्योग स्थापना तथा पुरानाको मर्मत गर्न आवश्यक पर्ने यस्तो आयातलाई अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।

५. सवारी साधन र यसका पार्टपुर्जा

सबैभन्दा धेरै आयात हुने अर्को वस्तुमा सवारी साधन र यसका पार्टपुर्जा रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा २९ अर्ब २० करोड २१ लाख ६१ हजारको सवारीसाधन र यसका पार्टपुर्जा नेपाल भित्रिएको छ । गत आर्थिक वर्षको सोही समयमा भने २३ अर्ब ३४ करोड ३० लाख ८२ हजारको सवारीसाधन र यसका पार्टपुर्जा आयात भएको थियो ।

गत वर्ष भने ५१ अर्ब ९६ करोड ८५ लाख १५ हजारको सवारीसाधन र यसका पार्टपुर्जा आयात भएको थियो । विभागको तथ्यांकअनुसार नेपालबाट नगन्य मात्र सवारी साधन र यसका पार्टपुर्जा निर्यात भएको देखिन्छ । पछिल्लो समय नेपालीमा निजी सवारीसाधन अति आवश्यकताको वस्तु भएको छ । त्यसकारण पनि सवारीसाधनको कारोबार बढेको हो । नेपालमा भारत, चीन, अमेरिका, जापान, जर्मनी, इटाली, ताइवान, कोरिया, स्विट्जल्याण्डलगायत मुलुकबाट नेपालमा सवारीसाधन तथा त्यसका पार्टपुर्जा आयात हुँदै आएको छ । पछिल्लो समय सवारीसाधनको केही पार्टपुर्जा भने नेपालमै उत्पादन हुन थालेका छन् ।

६. प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्री

नेपालमा बर्सेनि प्लाष्टिकका कच्चा पदार्थ तथा प्लाष्टिकका सामग्री  आयात भइरहेको छ । पछिल्लो पाँच महिनामा मात्र २३ अर्ब ९९ करोड ८५ लाख ५७ हजार रुपैयाँ मूल्यबराबरका प्लाष्टिकजन्य उत्पादन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने २५ अर्ब ९९ करोड ७९ लाख २४ हजार रुपैयाँबराबरको प्लाष्टिकका कच्चापदार्थ तथा प्लाष्टिकका सामग्री आयात भएको थियो ।

आर्थिक वर्ष २०७९–०८० मा भने ६० अर्ब ८५ करोड ८ लाख २८ हजार रुपैयाँ बराबरको प्लाष्टिक तथा प्लाष्टिकका सामग्री आयात भएको थियो । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा ७औँ स्थानमा प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्री पर्ने गरेका छन् । नेपालमा थुप्रै कम्पनीहरूले प्लाष्टिक जन्य सामाग्री उत्पादन गर्दै आएका छन् । तर, यस्ता उद्योगलाई चाहिने कच्चा पदार्थ अन्य देशबाट ल्याउनु परिरहेको छ । विशेषतः नेपालमा प्लाष्टिकका भाँडा, झोला, फर्निचर र घरायसी प्रयोजनामा प्रयोग हुने सामग्री उत्पादन हुने गरेका छन् ।

नेपालमा विशेष गरी खाडी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, चीन, भारतलगायतका देशबाट प्लाष्टिकका कच्चा पदार्थ तथा प्लाष्टिकजन्य सामग्री आयात हुने गरेका छन् ।

 ७.जीवजन्तु र वानस्पतिक बोसो र तेल

नेपालमा आयात हुने प्रमुख वस्तुहरूमा जीवजन्तु, वानस्पतिक बोसो र तेल पनि पर्छ । जीवजन्तु, वानस्पतिक बोसो र तेल अन्तर्गतका आयातीत वस्तुको विगत वर्षहरू देखिको तुलनात्मक आयात हेर्दा सातौँ स्थानमा रहेको छ । 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा २२ अर्ब ४८ करोड ९८ लाख ७२ हजार रुपैयाँको जीवजन्तु, वानस्पतिक बोसो र तेल आयात भएको छ । गत वर्षको सोही अवधिमा भने ४५ अर्ब ८ करोड ६८ लाख १९ हजार रुपैयाँबराबरको जीवजन्तु, वानस्पतिक बोसो र तेल आयात भएको थियो । 

यस्तै, आर्थिक वर्ष २०७९–८० मा भने कुल ८६ अर्ब ८१ करोड ८७ लाख ६८ हजार रुपैयाँको जीवजन्तु, वानस्पतिक बोसो र तेल आयात भएको थियो । 

यी वस्तु इन्डोनेसिया, अर्जेन्टिना, युक्रेन, युएसए, क्यानडा, भारत, ब्राजिल, मलेसिया, अस्ट्रेलिया, पाराग्वेलगायत देशबाट आयात हुन्छ । नेपालले आयात गर्ने तेलहन र खाद्य तेलमा भटमास, भटमासको कच्चा तेल, पामको कच्चातेल, सूर्यमुखी तेल र तोरी र तोरीको तेलको अंश प्रमुख रूपमा रहेको छ ।
 
विगत वर्षदेखि भटमासको कच्चा तेल र पामको कच्चा तेल आयात मूल्य योगसहित भारततर्फ निकासीसमेत हुने गरेकाले यी दुई वस्तुको कच्चापदार्थको आयातले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान पनि दिएको पाइन्छ । नेपालमा तेलहन र खाद्य तेलको आयातमा यसरी वृद्धि हुुनुमा सर्वप्रथम नेपालमा आएको उपभोग प्रवृत्तिमा आएको परिवर्तन प्रमुख कारणका रूपमा मानिएको छ । 

यसका साथै पशुपालनमा कमी, तराईमा तोरी बारीहरूमा आधारित सहरीकरण, बस्ती विकास, जमिन बाँझो राख्ने प्रवृत्ति तथा सस्तोमा आयातीत तेलहरू उपलब्ध हुनुका कारण नेपालमा तेलहन तथा खाद्य तेलको आयातमा भारी वृद्धि भएको पाइन्छ ।

८. अनाज

कृषिले नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै एकतिहाई र कुल रोजगारीको दुईतिहाई प्रतिनिधित्व गर्छ । नेपालको जैविक तथा भौगोलिक विविधताका कारण यहाँ उत्पादनगत विविधताको क्षमता रहे पनि त्यसको उपयोग गर्न सकिएको छैन, जसका कारण नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि उपभोग र आयातमुखी बन्दै गएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा १७ अर्ब ९३ करोड १९ लाख ७७ हजारको अनाज आयात भएको छ । गत वर्षको सोही अवधिमा भने २० अर्ब ३१ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको अनाज आयात भएको थियो ।

गत वर्ष ५६ अर्ब ६२ करोडको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ । सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ । तर, आर्थिक वर्ष ०७८–७९ मा भन्दा कम आयात भएको छ । सो अवधिमा ७४ अर्ब २८ करोडको अनाज आयात भएको थियो । किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको विज्ञको भनाइ छ । तराईमा उत्पादित खाद्यान्न खुला सीमा हुँदै भारत जाने गरेको तथा नेपालीको खानपान व्यवहारका कारण पनि कृषिजन्य वस्तुको आयात धेरै देखिएको हो ।

९. औषधि 

औषधिमा आत्मनिर्भर हुने कुरा कागजै सीमित छ । औषधिमा आत्मनिर्भरताको विषय आजभन्दा २९ वर्ष अघिदेखि प्रतिबद्धता गरेको कुरा हो । राष्ट्रिय औषधि नीति ०५१ ले १० वर्षभित्र देशमा खपत हुने ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने नीति लिएको थियो । तर, औषधि उत्पादन, आयात तथा निर्यातका पक्षमा बनेका नीति तथा कानुन कार्यान्वयन नहुँदा स्वदेशी उत्पादनले गति लिन सकेको छैन । 

नेपालले आज पनि बर्सेनि अर्बाैंको औषधि आयात गरिरहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको औषधि आयात भएको छ । आर्थिक वर्ष २०७९–८० को पाँच महिनामा भने १९ अर्ब १३ करोड ८० लाख १५ हजार रुपैयाँ बराबरको औषधि आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७९–८० मा ४४ अर्ब ६४ करोड ४५ लाख ५८ हजारको औषधि आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।  यस्तै, आर्थिक वर्ष २०७८–७९ मा ७० अर्ब ९३ करोडबराबरको एक करोड ९९ लाख ४५ हजार सात सय ५२ किलो औषधि आयात भएको थियो । 

नेपाल औषधि उत्पादक संघका अनुसार ट्याब्लेड, क्याप्सुल, लिक्विड र आइण्टमेण्ट (मल्हम)मा भने नेपाल लगभग आत्मनिर्भर छ भने विशेषगरी भ्याक्सिन, बायोटेक्नोलोजी प्रडक्ट, क्रिटिकल केयरलगायत अत्यावश्यक औषधि विदेशबाटै आयात गर्दै आएको छ । 

नेपालले हाल पाँच सय प्रकारका औषधि उत्पादनमा नेपाली कम्पनीले ७० प्रतिशत हिस्सा ओगटेका छन् । नेपालमा हाल डेढ सयको हाराहारीमा उद्योग दर्ता भए पनि करिब ७९ वटा औषधि उद्योग सञ्चालनमा रहेका छन् । औषधि बजारमा भ्याक्सिनबाहेक भारतीय र नेपाली उत्पादनले ५०–५० प्रतिशत बजार हिस्सा ओगटेका छन् । सरकारले सित्तैमा बाँड्ने करिब ९० प्रतिशत र सम्पूर्ण औषधिको ७५ प्रतिशत औषधि उत्पादन गर्न सक्ने अवस्था विद्यमान रहेको भए पनि सरकारी उदासीनताले बजारको ५० प्रतिशत हिस्सामा खुम्चिनुपर्ने अवस्था छ ।


 
१०. मल

कृषिप्रधान देशका रुपमा रहेको नेपालको कृषि क्षेत्र थप जर्जर बन्दै गएको छ । काम गर्नसक्ने जनशक्ति विदेशिँदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देश बर्सेनि खर्बाैं रुपैयाँबराबरको भए पनि तरकारी, फलफूलदेखि खाद्यान्नसम्म छिमेकी देशबाट आयात भइरहेको छ । सरकारले नेपालका कृषि उत्पादकत्व बढाउन विभिन्न प्रकारका उपाय अवलम्बन गरिरहेको छ । त्यमध्येको एक हो– मल । 

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०–८१ को पाँच महिना (साउन–मंसिर)मा मात्रै नेपालले कृषि उत्पादन बढाउनकै लागि भन्दै १९ करोड ९७ लाख किलो मल १५ अर्ब १७ करोड ६२ लाख रुपैयाँबराबरको रासयनिक मल मात्रै आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ अर्ब १६ करोड ५० लाख ८७ हजार रुपैयाँबराबरको मल आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष ०७९–८० मा ४० अर्ब ६९ करोड ६५ लाख ८८ हजारको मल आयात भएको थियो । सरकारले रासायनिक मल खरिदका लागि बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्छ । तर, किसानले खेती गर्ने समयमा मल नै पाउँदैनन् । यस्तो समस्या भोग्नुपरेको वर्षौं भए पनि सरकारले समाधान निकाल्न सकेको छैन । सरकारले कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटको आधाभन्दा धेरै रकम अनुदानको रासायनिक मल खरिदका लागि खर्च हुने गरेको छ । नेपालमा रासायनिक मल उत्पादन हुँदैन । सरकारले विदेशबाट समयमै आयात गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुने गरेको छ ।

  • प्रकाशित मिति : पुस ११, २०८० बुधबार १८:२६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया