सबै श्रमजीवीका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सामाजिक न्यायलाई आफूले उच्च महत्व दिएको भन्दै सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने बताएका हुन् ।

आफू नेतृत्वको वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री रहेको दाबी उनले गरे । ‘एक वर्षको अवधिमा सबैभन्दा बढी महत्वसमेत यस क्षेत्रलाई नै दिएको छु’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा समेत देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र उनीहरूका प्रतिनिधि संस्था ट्रेड युनियनहरूले उठाएका विषयलाई अधिकतम सम्बोधन गर्न क्रियाशील रहनेछु ।’

एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानकहरू स्थापित भएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । 

एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवाप्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानकहरू स्थापित भएको उल्लेख गर्दै उनले भने, ‘तर, यत्तिमै म सन्तुष्ट छैन । मैले पुस १० गते जनताको नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ संकल्पहरू सार्वजनिक गरेको छु’ उनले भने, ‘ती संकल्पहरू दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ ।’

उनले सरकारले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको भन्दै  विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकहरूको हित रक्षाका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए । 



‘सरकारले स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू एवं अनौपचारिक क्षेत्रका श्रमिकहरूका निम्तिसमेत निकै महत्वका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरिसकेको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस कार्यक्रममा हजारौं रोजगारदाता र लाखौं श्रमिकहरू आवद्ध भइसकेका छन् । अर्कोतर्फ विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकहरूको हित रक्षाका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’ 



  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार १३:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया