प्रो क्लब च्याम्पियनसिप : साहब बने सर्वाधिक विकेटकर्ता, यस्तो रह्यो अन्यको प्रदर्शन

दोस्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० प्रतियोगितामा स्पिनर साहब आलम सर्वाधिक विकेटकर्ता बनेका छन् । नेपाल आर्मी क्लबबाट प्रतियोगिता खेलेका उनले ७ खेलमा २.१९ को इकोनमीमा सर्वाधिक १९ विकेट लिए । 

प्रतियोगितामा साहबको उत्कृष्ट बलिङ प्रदर्शन ४ रन दिएर ४ विकेट लिनु रह्यो । यस प्रतियोगितामा गरेको प्रदर्शनले उनी छिट्टै राष्ट्रिय टिममा पुनरागमन गर्ने सम्भावना बढेको छ ।  

स्पिनरद्वय साहब आलम र बसिर अहमद

साहबले २०२२ यता राष्ट्रिय टिममा मौका पाउन सकेका छैनन् । हालसम्म उनले ६ टी–२० अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । यस्तै, प्रो क्लब च्याम्पियनसिपमा सर्वाधिक विकेट लिने मामलामा नेपाल पुलिस क्लबमा आबद्ध स्पिनर सागर ढकाल दोस्रो नम्बरमा रहे । 

पुलिसलाई उपाधि दिलाउन उनले ७ खेलमा ४.४८ को इकोनमीमा १३ विकेट लिए । प्रतियोगिातमा सागरको उत्कृष्ट बलिङ २२ रन दिएर ४ विकेट लिनु रह्यो । उनले हालसम्म नेपालका लागि ८ एकदिवसीय र दुई टी–२० आई म्याच खेलेका छन् । सागरले पनि २०२२ यता अन्तर्राष्ट्रिय म्याच खेल्न पाएका छैनन् । 

त्यस्तै, प्रो क्लब च्याम्पियनसिपमा सर्वाधिक विकेट लिने सूचीको तेस्रो स्थानमा युवा अलराउन्डर कुशल मल्ल रहे । उनले ६ खेलमा ४.१८ को इकोनमीमा १२ विकेट लिए । 



कुशल मल्ल, फाइल तस्बिर

आर्मी क्लबबाट प्रतियोगिता खेलेका कुशलको उत्कृष्ट बलिङ प्रदर्शन १८ रन दिएर ५ विकेट लिनु रह्यो । उनले ब्याटिङतर्फ ६ खेलमा एक अर्धशतकसहित १४७ रन बनाए । कुशल सर्वाधिक रन बनाउने सूचीमा चौथो स्थानमा रहे ।  



त्यस्तै, प्रो क्लब च्याम्पियनसिपमा सर्वाधिक विकेट लिने मामलामा चौथो स्थानमा पर्सा इलाभेनका कप्तान सन्दीप लामिछानेको नाम छ । उनले ६ खेलमा ६.१७ को इकोनमीमा ११ विकेट लिए । प्रतियोगितामा सन्दीपको उच्च बलिङ प्रदर्शन १३ रन दिएर ३ विकेट लिनु रह्यो । 

उत्कृष्ट कप्तानी गर्दै उनले पर्सा इलाभेनलाई फाइनलसम्म पुर्याए । तर, फाइनलमा सन्दीपले नखेल्दा पर्सा–११ नेपाल आर्मी क्लबसँग १ सय रनले पराजित भयो । 

यो सूचीको पाँचौं स्थानमा नेपाल पुलिस क्लबमा आबद्ध ललित राजवंशी रहे । उनले ७ खेलमा ३.८४ को इकोनमीमा १० विकेट लिए । प्रतियोगितामा ललितको उत्कृष्ट बलिङ ५ रन दिएर २ विकेट लिनु रह्यो । 

ललित राजवंशी, फाइल तस्बिर

यस्तै, सर्वाधिक विकेट लिने मामलामा बसिर अहमद, राशिद खान, शेर मल्ल, पवन सर्राफ र सोमपाल कामी क्रमशः छैटौँदेखि दशौँ स्थानसम्मा रहे । प्रतियोगिातमा यी पाँचवटै बलरले ९/९ विकेट लिए ।

  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १०:२२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया