काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु
फाइल तस्बिर

अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौं–पोखरा र काठमाडौं–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।

बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।

यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौंदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भए पनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे ।

रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए । उनले आफ्नो कम्पनीले २ करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरूले काठमाडौं–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् ।

यसअघि काठमाडौंदेखि पोखरा र काठमाडौंदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौं सुनौली बससेवा सञ्चालन गरेको छ ।

बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिए ।



नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ । हाल काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताए । हाल काठमाडौं सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् । रासस 



  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १३:५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया