दुग्ध किसानको गुनासो : न बिक्री गर्न सजिलो छ नत भुक्तानी पाउन, हामी चेपुवामा पर्‍यौँ

चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका छन् । 

किसानले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे मागसमेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे । दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

सङ्घका सचिव कल्याण अधिकारीले बजारीकरणमा समस्या भोगिरहेका दुग्ध किसानको भुक्तानीमा ढिलाइ हुँदा समस्या झन जटिल हुँदै गएको बताए । ‘न उत्पादन बढी हुँदा बिक्री गर्न सकिन्छ, न त बिक्री भएको दूधको भुक्तानी पाइन्छ’, उनले भने, ‘हामी चेपुवामा परेका छौँ ।’

आत्मनिर्भरता उन्मुख हुँदै गएको दुग्ध क्षेत्रलाई राज्यको नीतिले सम्बोधन नगरेको र किसानलाई प्रोत्साहन नभएको दुग्ध किसानको गुनासो छ ।  रासस 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ७:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया